News Desk
काठमाडौं, वैशाख १३ — सामुदायिक युनाइटेड नेचर इन्टरनेसनल पिस (युनिपुन) नेपाल च्याप्टर र बालबालिका वास्ता नेपालको संयुक्त आयोजनामा शनिबार नागार्जुन नगरपालिका वडा नं. ६ स्थित डाँडापौवाको सीताराम माध्यमिक विद्यालय प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।
स्वास्थ्य शिविर स्वयम्भू सर्जिकल आइ सेन्टर, तिलगंगा आँखा अस्पताल, स्वास्थ्य सेवा परिषद (स्वयम्भू सामुदायिक अस्पताल) र समाज डेन्टल अस्पताल सीतापाइलाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
२०८२ वैशाख १३ गते, शनिबार बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन गरिएको शिविरमा आँखा, मोतिबिन्दु छनौट र दन्त रोगसम्बन्धी करिब ४५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा मोतिबिन्दु देखा परेका बिरामीहरूको आउँदो हप्तामा सामुदायिक अस्पतालमा शल्यक्रिया (अपरेसन) गरिने जनाइएको छ। साथै, आवश्यक औषधिहरू पनि निःशुल्क रूपमा वितरण गरिएको थियो।
शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखा तथा दन्त रोगसम्बन्धी परामर्श, उपचार, र आवश्यक जानकारी प्रदान गरे। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यो शिविरले समुदायमा सकारात्मक प्रभाव पारेको आयोजक संस्थाहरूले जनाएका छन्।
शिविर सफल बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता र नागार्जुन नगरपालिकाको सहयोग उल्लेखनीय रहेको आयोजकले बताएका छन्। साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनहरूमा थप बिरामीलाई सेवा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।