News Desk
ललितपुर । पूर्व प्रधानमन्त्री एवं वाम आन्दोलनका शिर्ष पुरुष मनमोहन अधिकारीको २६औँ स्मृति दिवस शनिबार ललितपुरमा भव्य रुपमा मनाइएको छ। मनमोहन अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा स्मृति सभाको आयोजना गरी अधिकारीको योगदान र स्मृतिलाई सम्मान गरिएको हो। प्रतिष्ठानकी संस्थापक शान्ति अधिकारीको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि र पूर्व उपप्रधानमन्त्री एवं प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल सभा अध्यक्ष हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको विश्वास र भरोसा अझ मजबुत हुने बताउनुभयो। उहाँले २०५१ सालमा संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सरकार गठन भई अधिकारीको नेतृत्वमा बनेको सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता र समावेशिताको दृष्टिले ऐतिहासिक रहेको उल्लेख गर्नुभयो। भण्डारीले उक्त नौ महिने कम्युनिस्ट सरकारले अघि सारेका "आफ्नो गाउँ, आफैँ बनाऔँ", ज्येष्ठ नागरिकहरूका लागि सम्मान वृद्धभत्ता र अन्य सामाजिक तथा आर्थिक विकासका कार्यक्रमहरूले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गर्नुभयो।
उहाँले अझै पनि यी ऐतिहासिक कार्यक्रमहरूको प्रभाव कायम रहेको र नेकपा एमालेले त्यसको जगमा अहिलेको आधार निर्माण गरेको बताउनुभयो। साथै, भण्डारीले यदि अधिकारी अहिले जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरण र समाजवादउन्मुख सामाजिक तथा आर्थिक प्रणाली निर्माणमा उहाँको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो। अधिकारीलाई उहाँले एक राजनीतिक नेता मात्र नभई सम्पूर्ण नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले वर्तमान भूराजनीतिक संवेदनशीलताका सन्दर्भमा विचार गर्दै नेपालले आफ्नो राष्ट्रिय स्वाधीनता, स्वाभिमान र अखण्डता जोगाउन गम्भीर सोच राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पोखरेलले भारतसँगको खुला सीमाना, विगतका अद्यावधिक नभएका सन्धीहरू र सीमाको व्यवस्थापनबारे चिन्ता व्यक्त गर्दै नेपालले राष्ट्रहितका पक्षमा दृढतापूर्वक उभिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने प्रयास भइरहे पनि पार्टीले जहिले पनि प्रतिकूलता र चुनौतीसँग जुध्दै राष्ट्रिय स्वाभिमान र जनताको हकहितको पक्षमा दृढतापूर्वक संघर्ष गर्दै आएको उल्लेख गर्नुभयो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, "नेपालको राजनीतिमा अनेक ढंगले समस्या छन् भन्ने हिसाबले चित्रण गर्ने र नेकपा एमालेलाई कमजोर देखाउने प्रयास भइरहेको छ। तर, नेकपा एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको छ। पार्टीले आफ्नो मान्यता र अठोटबाट कहिल्यै विचलित भएको छैन।"
कार्यक्रममा स्मृति प्रतिष्ठानकी संस्थापक शान्ति अधिकारीले मनमोहन अधिकारीको योगदानलाई उजागर गर्दै भन्नुभयो, "मनमोहन अधिकारीज्यूले नेपाली राजनीति र समाजमा निष्ठा, आदर्श र सेवाभावको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँले देखाएको बाटो र आदर्शलाई आजका पुस्ताले आत्मसात् गर्न सके मात्रै राष्ट्र समुन्नत दिशातर्फ अघि बढ्न सक्छ। हामी उहाँको स्मृतिलाई जीवन्त राख्दै उहाँका सपना र आदर्शहरूलाई व्यवहारमा उतार्ने प्रयासमा लागिरहेकाछौँ।"
कार्यक्रममा नेकपा एमालेका पदाधिकारीहरू, स्थायी समिति सदस्यहरू, मन्त्रीहरू, सांसदहरू, पार्टीका नेता–कार्यकर्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बहादुर सिंह, शुभेच्छुक तथा विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो।