News Desk
काठमाडौं, शिक्षक आन्दोलनका कारण मन्त्री पदबाट राजीनामा दिएकी पूर्वशिक्षामन्त्री तथा नेकपा एमालेकी सांसद विद्या भट्टराई संसद बैठकपछि टेम्पोमा यात्रा गर्दै गरेको दृश्य सार्वजनिक भएको छ।
एमालेका अर्का सांसद तारा लामा तामाङले सामाजिक सञ्जालमार्फत भट्टराईको टेम्पो चढ्दै गरेको तस्वीर सार्वजनिक गरेका हुन्। लामाले बताएका अनुसार, प्रतिनिधिसभा २०७९ को छैठौँ अधिवेशनको पहिलो दिनको बैठक सकिएपछि उनी बानेश्वरस्थित संसद भवनको ३ नम्बर गेट नजिकै डेरा फर्कन पठाओ कुरिरहेका बेला भट्टराईलाई टेम्पो चढ्दै गरेको देखेका थिए।
"निवर्तमान मन्त्री विद्या भट्टराई ज्यू संसद बैठकपश्चात निवासतिर प्रस्थान गर्ने क्रममा टेम्पोमा चढ्दै गरेको देखेँ। उहाँका केही फोटोहरू मन परेपछि सेयर गरेको हुँ," लामाले तस्वीर सार्वजनिक गर्दै भनेका छन्।
विद्या भट्टराईले स्वास्थ्य समस्या देखाउँदै हालै शिक्षामन्त्री पदबाट राजीनामा दिएकी थिइन्। तर शिक्षकमाथि गरिएको दमन र आन्दोलनसँग सरकारको असफलताको पनि उनको राजीनामालाई जोडेर हेरिएको थियो।