News Desk
काठमाडौं | चालू आर्थिक वर्षमा नेपालले डिजेलपछि सबैभन्दा बढी भटमासको कच्चा तेल आयात गरेको छ। भन्सार विभागका अनुसार २०८० सालको चैत मसान्तसम्म नेपालले ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको कच्चा भटमास तेल (क्रुड सोयाबिन) आयात गरेको हो।
अघिल्लो वर्ष २०८० को चैतसम्म भटमासको कच्चा तेलको आयात १० अर्ब ८२ करोड रुपैयाँमात्रै रहेको थियो। यसपालि सो अवधिमा करिब साढे ५५ अर्ब रुपैयाँले वृद्धि भएको छ।
तथ्यांकअनुसार हालसम्म ९१ अर्ब २६ करोड रुपैयाँको डिजेल र ४७ अर्ब ७७ करोड रुपैयाँको पेट्रोल आयात भएको छ। कच्चा सनफ्लावर तेलको आयात २२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
कहाँबाट आउँछ भटमासको कच्चा तेल?
नेपालमा आयात हुने कच्चा भटमास तेलको ठूलो हिस्सा अर्जेन्टिनाबाट आएको छ। चालू वर्षमा मात्र अर्जेन्टिनाबाट ५० अर्ब रुपैयाँको भटमास तेल भित्रिएको छ। त्यसपछि ब्राजिलबाट ७ अर्ब २६ करोड, थाइल्यान्डबाट २ अर्ब ३३ करोड, चीन, इराक र युक्रेनबाट पनि करिब १ अर्बदेखि २ अर्ब रुपैयाँको भटमास तेल आयात भएको छ।
अर्जेन्टिना र युक्रेनबाट मात्रै ५७ अर्ब ७० करोड रुपैयाँको भटमास र सनफ्लावरको कच्चा तेल नेपाल भित्रिएको देखिन्छ।
प्रशोधनपछि तेल निर्यात
नेपालले कच्चा तेल प्रशोधन गरेर भारतलगायतका मुलुकमा निर्यात गरिरहेको छ। भन्सार विभागका तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्म नेपालले ६२ अर्ब ७८ करोड रुपैयाँको सोयाबिन तेल निर्यात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको ८२ करोड रुपैयाँको निर्यातसँग तुलना गर्दा उल्लेख्य वृद्धि हो।
त्यस्तै, कच्चा सनफ्लावर तेल आयात पनि बढेको छ। युक्रेनबाट १७ अर्ब १७ करोड र अर्जेन्टिनाबाट ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल आयात भएको छ। प्रशोधनपछि सनफ्लावरको तेल पनि ९ अर्ब २३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
भारतसँगको सम्बन्ध र उद्योग विस्तारको तयारी
भन्सार विभागका एक उच्च अधिकारीका अनुसार नेपालमा थोरै मूल्य अभिवृद्धि गरेर कच्चा तेललाई प्रशोधन गरी भारतमा पठाउने गरिएको छ। "नेपालमा तेल सस्तो पर्ने भएकाले भारतले सहज रूपमा भित्रिन दिएको हो। तर यो निर्यात दीगो देखिँदैन," ती अधिकारीले बताएका छन्।
नेपालमा भटमास तथा अन्य तेलजन्य उद्योग विस्तार भइरहेका छन्। भारतीय कम्पनी विनायक आयलले जनकपुरमा ६ अर्ब रुपैयाँ लगानीमा तेल उद्योग खोल्ने प्रस्ताव लगानी बोर्डमा दर्ता गराएको छ। सो कम्पनीले नेपाली साझेदार राइसा टिबडेवालसँग मिलेर लगानी गर्न लागेको हो।