News Desk
काठमाडौं, वैशाख १५, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूको सक्रियता बढेको भन्दै ती तत्वहरूले आफूलाई बिचौलियासँग जोड्न खोजेको आरोप लगाउनुभएको छ।
काठमाडौंमा आयोजित मदन भण्डारी फाउन्डेशनको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले "मेरो बेडरूमसम्म बिचौलियाको पहुँच छ" भन्ने दावी गर्नेहरूले प्रमाण दिन चुनौती दिनुभयो।
उक्त टिप्पणी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई साता अघि एक कार्यक्रममा राखेका थिए। थापाले सरकारको काम कारबाहीमा बिचौलियाको प्रभाव परेको र प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए।
यसप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा स्थिरता, विकास र सुशासनको गति तीव्र भएको अवस्थामा सरकार र नेतृत्वलाई बदनाम गर्न नियोजित ढंगले झूटा आरोप लगाइएको बताउनुभयो।
आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हाल निलो रङका स्यालहरूले बढी हाउभाउ गरेको आरोप पनि लगाउनुभयो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्ने भन्ने हल्ला फैलाउनेहरू अहिले निराश भएको र उनीहरूको टाउकोमा चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो।
पार्टीभित्र आफूविरुद्ध उठेका आवाजहरूतर्फ संकेत गर्दै उहाँले विपक्षीलाई सामना गर्न नसक्नेहरू पार्टीभित्र आलोचनात्मक चेत बोक्ने नाममा गलत बाटोमा लागेको टिप्पणी गर्नुभयो। पार्टीमा एकता र अनुशासन आवश्यक रहेको प्रधानमन्त्री ओलीको जोड थियो।