रसुवा — कुनै समय करिब ४०० विद्यार्थीले खचाखच भरिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गत्लाङ (आमा छोदीङमो गाउँपालिका–३) अहिले विद्यार्थीको अभावमा बन्द हुने संघारमा पुगेको छ।
विगतमा जस्ताको टहराभित्र सञ्चालन हुँदै आएको यस विद्यालयले हाल सुविधासम्पन्न भवनमा पठनपाठन गराइरहे पनि, गाउँलेहरूको जीवनस्तरमा आएको परिवर्तन, पेसागत बसाइँसराइ, बजारमुखी सोच र गाउँमै गुणस्तरीय शिक्षाको कमीले गर्दा विद्यार्थीको संख्या क्रमशः घट्दै गएको छ। १८ जना शिक्षक दरबन्दी रहेको विद्यालय अहिले प्रायः विद्यार्थीविहीन अवस्थामा छ।
शिक्षक आन्दोलन अझै समाधानमा नपुगेको र पठनपाठन ठप्प भइरहेकाले अभिभावकहरूले आफ्ना सन्तानलाई बाहिरी विद्यालयमा पठाउने क्रम बढ्दै गएपछि विद्यालय बन्द हुने चिन्ता बढेको छ। यही अवस्था देखेर गाउँपालिका उपाध्यक्ष चान्डिका तामाङको संयोजनमा वडा अध्यक्ष सुरेन्द्र तामाङ, अन्य जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा स्वास्थ्यकर्मीहरूको सक्रिय पहलमा “आफ्नो गाउँ आफैं बनाऔं” भन्ने नारासहित पुनः विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ। हालसम्म ३६ जना विद्यार्थी पुनः गाउँकै विद्यालयमा भर्ना भइसकेका छन्।
जिल्ला युवा समिति रसुवाका अध्यक्ष तथा भर्ना अभियानका अभियन्ता अविनाश तामाङले राज्यदैनिक डटकमसँग कुरा गर्दै भने, “आजको मितिसम्म काठमाडौं लगायतका बोर्डिङ स्कुल छोडेर २१ जना विद्यार्थी विद्यालयमा भर्ना भइसकेका छन्। यसअघि पनि स्कुलमै अध्ययनरत विद्यार्थीहरू धमाधम भर्ना भइरहेका छन्। सामाजिक सञ्जालमार्फत अभियानलाई सार्वजनिक गर्नुको मुख्य कारण भनेको विद्यालयबाट विद्यार्थीको तीव्र बहिर्गमनका कारण विद्यालय नै कोलेप्स हुने स्थितिमा पुग्नु हो। त्यसैले यो अभियान चलाएर विद्यार्थीलाई गाउँमै रोक्ने प्रयास गरिएको हो। समुदायमा फेरि विश्वास कायम गर्न खोजिएको छ। आन्दोलन यदि थप लम्बियो भने अभिभावककै संयोजनमा पढाउने वैकल्पिक योजना बनाइएको छ, ।”