सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच वार्ता निष्कर्षतर्फ उन्मुख
News Desk
Apr-30 , 2025 तारिख 11:43 बिहान

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा छुट्टाछुट्टै चरणमा भएको वार्ता निष्कर्षतर्फ उन्मुख देखिए पनि औपचारिक सहमति भने हुन सकेको छैन।

दुवै पक्ष आगामी २१ वैशाखबाट सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्न इच्छुक देखिएका छन्। महासंघले परीक्षा निर्धारित मितिमै सम्पन्न गरिने विषयमा स्पष्ट प्रतिबद्धता जनाएको छ।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा महासंघ गम्भीर र जिम्मेवार रहेको बताउनुभयो।

सूत्रका अनुसार मंगलबार रातिसम्म चलेको छलफलमा महासंघले सरकारसमक्ष ९ बुँदे मागहरू राखेको छ। वार्तामा सहभागी एक मन्त्रीका अनुसार ती मागहरू मन्त्रिपरिषद्बाट पारित भए महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने तयारी रहेको छ।

महासंघले सरकारलाई न्यूनतम सहमतिको बिन्दु प्रस्तुत गरिसकेको र बुधबार बस्ने कार्यसमिति बैठकले आन्दोलनको नयाँ मोडालिटीबारे निर्णय लिने बताइएको छ।

यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तापछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै द्विपक्षीय संवाद सकारात्मक दिशातर्फ अगाडि बढेको र छिट्टै सहमतिमा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।

चैत २० गतेदेखि शिक्षक महासंघ आफ्ना विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको हो। २८ दिनदेखि जारी आन्दोलनका कारण सार्वजनिक शिक्षा क्षेत्रमा असर परेको भन्दै सरकारले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सक्रियता देखाएको हो।

यसअघि तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले सोही विषयमा केन्द्रित ७ बुँदे प्रस्ताव तयार गर्नुभएको थियो। मंगलबारको वार्तामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो।

शिक्षक पक्षबाट महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा वार्ता टोली सहभागी थियो।