News Desk
टीकापुर घटनामा दोषी ठहर भई राष्ट्रपति माफीपछि रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुनः पक्राउ गराउन तयार गरिएको एक विवादास्पद पत्रका लेखक महिमानसिंह विष्ट स्वयं हुन् भन्ने खुलेको छ। सर्वोच्च अदालतको रिट महाशाखाका शाखा अधिकृत विष्टले आफैं उक्त पत्र तयार पारी प्रहरी र कारागारमा बुझाएको स्वीकार गरेका छन्।
उक्त पत्रकै आधारमा बुधबार बिहान प्रहरीले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा पु-याएको थियो। तर पछि सर्वोच्च अदालतले पत्र गैरकानुनी भएको भन्दै तुरुन्तै रेशमलाई रिहा गर्न आदेश दिएको थियो।
विष्टले अदालतको छाप, लेटरहेड र पदको दुरुपयोग गर्दै बिना अधिकृत आदेश पत्र लेखेको देखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। विष्टलाई सर्वोच्च अदालतको सुरक्षा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरीलाई बुझाएको हो।
प्रारम्भिक सोधपुछमा विष्टले पत्र आफैंले लेखेको स्वीकार्दै भनेका छन्, “टीकापुर घटनामा मरेकाहरूको आत्माको शान्तिका लागि यो काम गरेँ। आममाफी फैसलाको पूर्णपाठ आउनुअघि दिनु असंवैधानिक थियो। त्यसैले मैले होशपूर्वक यो पत्र तयार पारेको हुँ, अब जे सजाय भए पनि भोग्न तयार छु।”
घटनापछि सर्वोच्चले डिल्लीबजार कारागारलाई पुनः पत्र पठाई चौधरीलाई रिहा गर्न आदेश दिएपछि उनलाई उनका पिता लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मा लगाइएको छ।
यसबीच, रेशमको पक्राउसँगै सोही दिन तय भएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि स्थगित भएको छ। दुवै दलका नेताहरूले यो घटनालाई योजनाबद्ध रूपमा राजनीतिक एकता भंग गर्न गरिएको षड्यन्त्रको रूपमा हेरेका छन्।
स्रोतअनुसार, विष्टमाथि कुन कानुनी धारामा कारबाही अघि बढाउने भन्नेबारे प्रहरी अझै अध्ययन गरिरहेको छ। प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।