News Desk
सप्तरी, वैशाख १८ | भारतको सीमावर्ती सहर सीतामढीमा वैवाहिक समारोहमा रमाइलो गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएकोप्रति बोदेबरसाइन नगरपालिकाका डा. बबीसिंह यादवले गम्भीर आपत्ति जनाएकी छन्।
एक सार्वजनिक वक्तव्यमार्फत डा. यादवले उक्त भिडियो व्यक्तिगत पारिवारिक समारोहको बेला खिचिएको स्पष्ट पार्दै, सन्दर्भ र अनुमति विना सामाजिक सञ्जालमा भाइरल बनाउने कार्यको निन्दा गरेकी छन्। "रेन्जर टोइ" नामक खेलौनाबाट गरिएको फायरलाई अतिरञ्जित गरी प्रचार गरिएको भन्दै उनले त्यो कार्य न त पत्रकारिता हो, न नै नैतिकताको दायरा भित्र पर्छ भन्ने धारणा उनले राखेकी छन्।
उनले भनिन्, "कुनै तथाकथित युट्युब पत्रकारले निजी समारोहमा खिचिएको भिडियो आफ्नै सामग्रीझैं सामाजिक सञ्जालमा हाल्नु प्रेस आचारसंहिताको स्पष्ट उल्लङ्घन हो, जसको म घोर भर्त्सना गर्दछु।"
साथै, डा. यादवले सामाजिक सोचप्रति पनि कटाक्ष गर्दै सोधेकी छन्, “के वैवाहिक समारोह वा अन्य कुनै कार्यक्रममा रमाइलो गर्ने अधिकार पुरुष मात्रको हो?”
महिलाले रमाइलो गर्दा वा नृत्य गर्दा त्यसलाई सामाजिक आचरणको विषय बनाइने प्रवृत्तिको विरोध गर्दै उनले पितृसत्तात्मक सोचलाई त्याग्न समाजलाई आग्रह गरेकी छन्।
“महिलाले पनि रमाइलो गर्ने, नाच्ने, गाउने अधिकार राख्छन् – त्यसलाई विवादको विषय बनाउनु निन्दनीय हो,” उनले बताईन्।
अन्त्यमा डा. यादवले सामाजिक सञ्जालमा भ्रामक र अतिरञ्जित सामग्री नफैलाउन सबैलाई हार्दिक अनुरोध गरेकी छन्।