News Desk
काठमाडौं, वैशाख १९ | गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन वैशाख २० गतेदेखि काठमाडौंको हायात होटेलमा सुरु हुँदैछ। सर्वोच्च अदालतको परमादेशपश्चात् हुन लागेको यस महाधिवेशनलाई गम्भीर राजनीतिक र कानुनी पेचिलो परिस्थितिबीच अत्यन्तै महत्वपूर्ण मानिएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा पूर्व अध्यक्ष रविना थापाले सामाजिक सञ्जालमा लेखेको एक संक्षिप्त भावनात्मक सन्देश चर्चामा छ:
“मौन हुँ म।
खुला छन् मेरा आँखाहरू,
खुला छन् कान,
अनि खुला छ हृदय,
थाकेका छैनन् खुट्टाहरू सहकार्यका लागि,
आतुर छन् हातहरू!”
यस सन्देशले उनको धैर्यता, समर्पण र सहकार्यप्रतिको प्रतिबद्धता झल्काउँछ।
महाधिवेशनमा अध्यक्ष पदका लागि रविना थापा र आरके शर्मा प्रमुख दावेदारका रूपमा अगाडि आएका छन्। अर्कोतर्फ, पूर्व अध्यक्ष बद्री केसी पक्षधरहरूले निर्वाचन बहिष्कार गरेका छन् भने शेष घले संयोजकत्वको एकता महाधिवेशनविरुद्ध समेत अदालतमा मुद्दा दायर भइसकेको छ।
यस्तो जटिल अवस्थामा सहमतिको नेतृत्वलाई प्राथमिकता दिँदै रविना थापालाई पुनः पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने प्रयास भइरहेको छ।
एनआरएनएको २० वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल रविना थापाले अघिल्लो ६ महिनाको कार्यकालमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेकी थिइन्। १५औं महाधिवेशनले कुल आचार्य, बद्री केसी, र रविना थापाबीच ६-६ महिनाको कार्यकाल बाँडफाँड गरिदिएको थियो। कुल आचार्यपछि दोस्रो चरणमा अध्यक्ष बनेकी थापाले छोटो अवधिमा प्रभावशाली काम गरेर धेरैको मन जितेकी छन्।
गैरआवासीय नेपाली नागरिकता: नयाँ सरकारबाट प्रतिबद्धता प्राप्त गर्न विभिन्न राजनीतिक दलहरूसँग प्रभावकारी छलफल।
विदेशी लगानीको न्यूनतम सीमा घटाउन सफल: पाँच करोडबाट दुई करोड रुपैयाँमा झार्न पहल।
सामाजिक सुरक्षा कोष अभियान: मध्यपूर्वका श्रमिकहरूलाई समेट्दै सकारात्मक कदम।
ग्लोबल कन्क्लेभ तथा एनआरएन दिवस: प्रभावकारी र उच्चस्तरीय अन्तरक्रिया सम्पन्न।
मोबाइल ब्लड बस र स्मार्ट शौचालय परियोजना: जापान शाखाको सहकार्यमा कास्की र पोखरामै थालनी।
खेलकुद सहभागिता: नवौं राष्ट्रिय खेलकुदमा १० स्वर्णसहित ऐतिहासिक प्रदर्शन।
मानवीय सहायता: डोटी र टर्की भूकम्प पीडितलाई आर्थिक सहयोग तथा समवेदना प्रेषण।
संस्थागत विकास: ‘ग्लोबल एनआरएनए’ पुनः प्रकाशन, ऐन संशोधन र परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण।
एकता महाधिवेशनको तयारीमा पनि थापा अग्रपंक्तिमा छिन्। उनलाई प्रचार(प्रसार समिति संयोजकको रूपमा जिम्मेवारी दिइएको छ भने शेष घले नेतृत्वमा गठित उच्चस्तरीय समितिमा उनी सदस्य सचिवको भूमिकामा सक्रिय छिन्। ६७ सदस्यीय प्रचार समिति उनको संयोजकत्वमा गठन गरिएको हो।
रविना थापाको नेतृत्वले एनआरएनएमा समावेशी, समन्वययुक्त र प्रभावकारी कार्यशैलीको मार्गचित्र कोरेको छ। छोटो कार्यकालमै उनले प्रदर्शन गरेको दूरदृष्टि, महिला नेतृत्वको प्रभावशीलता र संस्थागत विकासप्रतिको प्रतिबद्धताले उनलाई पूर्ण कार्यकालका लागि सबैभन्दा उपयुक्त उम्मेदवार बनाएको छ।
संघको आगामी मार्गनिर्देशन र एकताको सन्देशलाई सशक्त बनाउने लक्ष्यका साथ, रविना थापा सहमतिको नेतृत्वको सम्भावित अनुहारका रूपमा दृढतापूर्वक अगाडि बढिरहेकी छन्।