सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबीच भेटवार्ता
News Desk
May-04 , 2025 तारिख 12:45 बेलुका

भारतको देहरादूनमा नेपाल सरकारका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीबीच औपचारिक भेटवार्ता सम्पन्न भएको छ। मुख्यमन्त्री शाह सम्मानित मन्त्री तथा सरकारी प्रतिनिधिमण्डलसहित उत्तराखण्डको सरकारी निवासमा पुगेका थिए।

भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा गहन कुराकानी भएको थियो। दुई देशका जनताबीच रहँदै आएको सुमधुर सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न प्रदेशस्तरमा सहकार्य बढाउने आवश्यकतामाथि पनि छलफल भएको थियो।

भारत र नेपालबीच साझा संस्कृति, परम्परा, भाषा, भेषभूषा, खानपान र जीवनशैलीले आपसी आत्मीयता बढाएको उल्लेख गर्दै दुबै मुख्यमन्त्रीहरूले दुई देशबीचको सम्बन्ध केवल राजनीतिक र भौगोलिक नभई गहिरो भावनात्मक र सांस्कृतिक रूपमा गाँसिएको बताएका थिए।

यस प्रकारको उच्चस्तरीय भेटवार्ताबाट प्रदेशस्तरमा विकास, व्यापार, शिक्षा, पर्यटन, संस्कृति तथा जनस्तरीय सहकार्यलाई अझ सशक्त बनाउने आधार तयार भएको विश्वास गरिएको छ।