एनआरएनए एकता महाधिवेशनमा परराष्ट्रमन्त्री डा. आरजु राणाको आग्रह : ‘संस्थालाई राजनीतिकरण नगर्नुहोस्’
News Desk
May-04 , 2025 तारिख 12:59 बेलुका

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र कुनै पनि प्रकारको राजनीतिक गतिविधि नगर्न आग्रह गर्नुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले संस्थालाई राजनीति मुक्त राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। "राजनीति गर्ने ठाउँ अलग हो, एनआरएनए संस्थाले राजनीतिको होइन, विकास र समृद्धिको अभियान अघि बढाउनुपर्छ," उहाँले स्पष्ट रूपमा भन्नुभयो।

परराष्ट्रमन्त्री राणाले विदेशमा बसेका नेपालीहरूले भोगेका अनुभव र सिकाइलाई नेपालको विकासमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै, "यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरूले सहयोग गरिदिनुस्," भन्ने आग्रह गर्नुभयो।

उहाँले राजनीतिक नेतृत्वले मात्रै समृद्धि ल्याउन कठिन हुने बताउँदै, गैरआवासीय नेपालीहरूले श्रम, ज्ञान, सीप र लगानीमार्फत उल्लेखनीय फड्को मारिसकेको उदाहरण दिनुभयो। "तपाईंहरू एउटै पुस्तामा आफ्नो परिवार, समाज, गाउँ र समुदायलाई अघि बढाउन सफल हुनुभएको छ, यो आफैंमा प्रेरणादायी हो," मन्त्री राणाको भनाइ थियो।

गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा सशक्त साझेदारको रूपमा चित्रण गर्दै उहाँले यस समुदायलाई "देश परिवर्तन गर्ने महत्वपूर्ण शक्ति" भनेर वर्णन गर्नुभयो।

यस अवसरमा उहाँले एनआरएनएभित्रको एकता, सहकार्य र समर्पणलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।