News Desk
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ र १७ को सीमावर्ती क्षेत्र गौरीगाउँमा माछाको दाना लिन बजारतर्फ आउँदै गरेको डीआई गाडी खाल्डोमा भासिएर सम्पर्कविहीन भएको छ।
ना ४ च ४८३३ नम्बरको उक्त गाडी शुक्रबार साँझ ५ बजेतिर कच्ची सडकमा रहेको हिलोमय खाल्डोमा फसेको थियो। गाडी निकाल्ने प्रयास हुँदै गर्दा झन् भित्र पसेर पूर्ण रूपमा हराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, डिएसपी श्यामु अर्यालले जानकारी दिए।
गाडीमा सवार चालक र सहचालक भने समयमै बाहिर निस्कन सफल भएका छन्। डिएसपी अर्यालका अनुसार गाडी करिब ५ सेकेन्डमै खाल्डोभित्र बिलीन भएको थियो।
स्थानीय बासिन्दाहरूका अनुसार उक्त स्थानमा पहिला बोरिङको लागि खाल्डो खनिएको थियो। तर पानी ननिस्किएपछि खाल्डो खुलै राखिएको थियो। त्यही खाल्डो जमिन भासिँदा गाडी त्यहीँ हराएको बताइएको छ।
घटनास्थलमा अहिले स्थानीय बासिन्दा, प्रहरी र जनप्रतिनिधिहरू मिलेर गाडीको खोजी तथा उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ।