News Desk
काठमाडौं – राजधानीको टोखा क्षेत्रबाट २५ करोड रुपैयाँभन्दा बढी मूल्यको विदेशी मुद्रा बरामद भएको ४९ दिन बितिसकेको छ। तर, सरकारका अनुसन्धान निकायहरूले त्यस रकमको मूल स्रोत र संलग्न सञ्जाल अझै पत्ता लगाउन सकेका छैनन्।
गत चैत ४ गते प्रहरीले टोखाबाट १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार अमेरिकी डलर बरामद गरेको थियो। उक्त नगद रकम ट्रकमार्फत चलाएको पाइएपछि चालक कुसाङ लामालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको थियो। सुन तस्करीमा संलग्नता हुनसक्ने आशंकामा विभागले मुद्दा दायर गरिसकेको छ। तर, यति ठूलो परिमाणको विदेशी मुद्रा संकलन कसरी भयो भन्ने विषयमा विभाग अन्धकारमै छ।
नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्रा सटही गर्न कानुनी रूपमा सम्भव छैन। यस्तो अवस्थामा सामान्य ट्रक चालक मार्फत करोडौं रकम चलाखीपूर्वक संकलन र व्यवस्थापन गरिएको विषयले अनुसन्धानकर्ता नै चकित परेका छन्। अझै त्यस्तो रकम कहाँबाट आयो, कसरी जम्मा भयो भन्नेबारे विभागले कुनै ठोस निष्कर्ष निकाल्न सकेको छैन।
बरामद गरिएको नोटहरूमा उल्लेख रकमक्रम अनुक्रमिक रहेकोले यो रकम सामान्य सटही बजारबाट होइन, विशेष संयन्त्रबाट एकैपटक ल्याइएको आशंका गरिएको छ। विभागका अधिकारीहरू यस विषयमा सार्वजनिक रूपमा बोल्न तयार छैनन्। तर, आन्तरिक रूपमा कूटनीतिक संयन्त्र वा अन्तर्राष्ट्रिय तस्कर समूह संलग्न हुनसक्ने ठहर भइरहेको छ।
राजस्व अनुसन्धान विभागले पछिल्ला ९ महिनामा मात्र ९६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेर विभिन्न मुद्दा दर्ता गरिसकेको छ। ती मुद्दाहरूमा २ अर्ब १३ करोड बिगो दाबी गर्दै १०७ जनालाई प्रतिवादी बनाइएको छ। यस अवधिमा विदेश जान लागेका एक यात्रुबाट १ लाख १६ हजार अमेरिकी डलरसम्म बरामद भएको विवरण छ।
नेपाल प्रहरीले पनि पछिल्ला तीन वर्षमा विदेशी मुद्राको अवैध कारोबारविरुद्ध व्यापक कारबाही गरेको छ। प्रहरीको तथ्यांकअनुसार, तीन वर्षमा मात्र ९ लाख ७५ हजार अमेरिकी डलर, १ लाख ९८ हजार युरो र अन्य देशका मुद्रासहित कूल ३५ करोड ५६ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा बरामद गरिएको छ। गत साउनयता मात्रै ५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा पक्राउ परेको छ।
अवैध विदेशी मुद्रा कारोबारसँगै क्रिप्टो भुक्तानी प्रणालीको प्रयोग बढ्न थालेपछि अनुसन्धानमा थप चुनौती देखा परेको छ। ६० किलो सुन तस्करीसम्बन्धी घटनामा समेत ३ अर्बभन्दा बढीको रकम क्रिप्टोमार्फत विदेशमै डलरमा भुक्तानी गरिएको खुलेको छ। यस्ता गतिविधिले मुलुकलाई 'ग्रे लिष्ट' मा राख्ने खतरा बढाएको छ।
वर्तमान अवस्थामा विदेशी मुद्रा अपचलनको यस्तो प्रवृत्तिले देशको बैंकिङ प्रणालीबाहिर कालो धनको कारोबार मात्र होइन, अन्य संगठित आपराधिक गतिविधिमा समेत लगानी हुने सम्भावना बढाएको छ। त्यसैले विदेशी मुद्रा अपचलनमा संलग्न गिरोहहरूको पहिचान र कडा कारबाही अपरिहार्य देखिन्छ।