News Desk
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत २ नेपाली विद्यार्थीको मृत्युको घटनाबारे सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले काम गरिरहेको बताएका छन्।
सोमवार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएक हुन्। उनले नेपालबाहिर अध्ययनका लागि जाने विद्यार्थीले एनओसी लिएर जाने गरे पनि भारतसँगको खुला सीमाका कारण एनओसी नलिइ जाने गरेको बताए।
उनले कति विद्यार्थी उक्त किट विश्वविद्यालयमा अध्ययनरत छन् भन्ने एकीन तथ्याङ्क मन्त्रालयसँग नभएको बताए। विद्यार्थी अध्ययनरत शैक्षिक संस्थाले दिएको तथ्याङ्कलाई नै आधिकारिक मान्नुपर्ने अवस्था भएको उनको भनाइ छ।
उनले एउटै शैक्षिक संस्थामा केही समयको अन्तरालमा विद्यार्थीको मृत्युको घटना हुनुको कारणबारे छानबिन भइरहेको बताए।
उनले घटनाको सत्यतथ्य पत्ता लगाउन विद्यार्थी पठाउने शैक्षिक एजेन्सीसँग सम्पर्क गरी छलफल गर्न मन्त्रालयका अधिकारीहरुलाई आफूले निर्देशन दिएको बताए।
‘यो घटना घट्नासाथ मैले मन्त्रालयमा सम्बन्धित अधिकारीहरुलाई तत्काल परराष्ट्रसँग समन्वय गरेर यसबारेमा के भएको हो डिटेल बुझ्न भनेको छु र मन्त्रालयले आवश्यक कोअर्डिनेशन पनि गरेको छ। कति गएका छन् भनेर हामीसँग तथ्यांक एकिन रुपमा छैन। केहीले एनओसी लिएर गएका छन् तर सबैले एनओसी लिएर गएका छैनन्‚’ उनले भने, ‘त्यसैले एनओसी लिएर गएकाको तथ्यांक हामीसँग छ तर भारत जानका लागि बोर्डर खुला छ धेरै विद्यार्थी एनओसी नलिइ भारतमा पढ्न जाने गरेको पाइन्छ। मन्त्रालयका अधिकारीहरुलाई युनिभर्सिटी वा शिक्षण संस्थाहरुमा हाम्रा कुनकुन एजेन्सीहरुले विद्यार्थी पठाउँछन्, तिनीहरुको मान्छे पत्ता लगाएर उनीहरुसँग बसेर किन यस्तो घटना दुई-दुई जना विद्यार्थीको त्यहाँ घट्यो? यस्तो घटना हुनुको कारणबारे उनीहरुरुसँग छलफल गर्नुपर्यो भनेर निर्देशन दिएको छु।’
मन्त्री पन्तले उक्त विषयमा शिक्षा तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउन गम्भीर ढंगले लागिपरेको बताए।