महाकाव्य 'मत्स्यगन्धां' को हस्तान्तरण – एक सन्दर्भात्मक चर्चा : मुकुन्द शर्मा चालिसे
कैलासकुञ्ज, बूढानीलकण्ठ | आज कविवर मुकुन्द पौडेल र उपन्यासकार माधव चेतनको आगमनसँगै कैलासकुञ्जमा साहित्यिक उत्सवको सुवास फैलियो। उक्त अवसरमा कविवर पौडेलले चर्चित साहित्यकार केशवराज आमोदीद्वारा लिखित महाकाव्य ‘मत्स्यगन्धा’ मलाई ससम्मान हस्तान्तरण गर्नुभयो। मैले कृतिलाई सधन्यवाद स्वीकार गरेँ।
केही दिन यता सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको यो महाकाव्य अनायासै हातमा पर्नु साँच्चिकै हर्षको विषय बन्यो। बहुआयामिक लेखक केशवराज आमोदी नेपाली साहित्यमा काव्य, गजल, निबन्ध तथा समालोचनाजस्ता विविध विधामा कलम चलाउने सशक्त व्यक्तित्व हुनुहुन्छ। उहाँको पूर्वप्रकाशित ‘उषा–अनिरुद्ध’ महाकाव्यले पनि मेरो ध्यान आकर्षित गरेको थियो। अहिले म उहाँको ‘मत्स्यगन्धा’ महाकाव्य पढ्दैछु।
उक्त महाकाव्यमा साहित्यकार नारायणप्रसाद खनालको विस्तृत भूमिका समावेश गरिएको छ भने प्रा। डा। जयराज आचार्य, रामबाबु घिमिरे, काशीनाथ न्यौपाने तथा गोविन्दराज विनोदीका मन्तव्यहरूले कृतिको महत्त्व थप बढाएका छन। स्वयं आमोदीजीले ‘वेदव्यासं सर्वदाहं नमामि’ भन्ने श्लोकमार्फत वेदव्यासप्रति नमन गर्दै कृतिको आरम्भ गर्नुभएको छ।
मत्स्यगन्धा महाकाव्य महाभारतको प्राचीन कथामा आधारित छ। यसमा मत्स्यगन्धा (सत्यवती) को उत्पत्ति, पराशर ऋषिसँगको मिलन र व्यासको जन्मको प्रसंगलाई केन्द्रीय कथा बनाएर विभिन्न पूर्वापर घटनालाई समेटिएको छ। छन्दको विविधता यो काव्यको विशेषता हो—जहाँ प्रसिद्ध मात्र होइन, केही दुर्लभ छन्दहरू पनि सशक्त ढंगले प्रयोग गरिएका छन। चित्रबन्ध श्लोकहरूले पाठकलाई विशेष सौन्दर्यानुभूति प्रदान गर्छन।
नेपालको दमौलीमा व्यासदेवको जन्मस्थल र व्यास गुफासँग जोडिएको किंवदन्तीलाई समेत समेट्दै लेखकले कृतिलाई नेपालीपनको मौलिक भावनाले अभिषिक्त गर्नुभएको छ। १७ सर्गमा विभाजित यो महाकाव्यले निश्चय नै नेपाली साहित्यमा उल्लेखनीय स्थान ओगट्नेछ।
आगामी २६ गते व्यास नगरमा ‘मत्स्यगन्धा’ महाकाव्यको औपचारिक विमोचन कार्यक्रमको जानकारी पाउँदा थप गर्वको अनुभव भएको छ। कविवर केशवराज आमोदीलाई हार्दिक बधाई तथा उहाँको साहित्यिक यात्रामा सरस्वतीको कृपा सदा रहोस भन्ने शुभकामना व्यक्त गर्दै यो सन्देश समाप्त गर्न चाहन्छु।
— मुकुन्द शर्मा चालिसे
बूढानीलकण्ठ, कैलासकुञ्ज