News Desk
वीरगञ्ज — लागुऔषधको प्रयोग र दुरुपयोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले पर्साको बीरगञ्ज महानगरपालिका–१ स्थित पण्डित रामविनी आधारभूत विद्यालयमा सचेतनामूलक तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा छपकैया र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको संयुक्त आयोजनामा ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कक्षा ७ र ८ मा अध्ययनरत ७५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूलाई लागुऔषधको प्रयोगका असर, दुष्परिणाम र रोकथामका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई प्रमुख अतिथिका रूपमा सहभागी थिए। अन्य विशिष्ट अतिथिमा जवाहरलाल कलवार, विजय कुमार, विद्यालयका प्रधानाध्यापक कुरेश राउत, शिक्षक रामनारायण प्रसाद, प्रेम कुमार साह, केदार तिमलसेना र सोलाजीम मिया रहेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले लागुऔषधसम्बन्धी विभिन्न प्रश्नहरू उठाएर जिज्ञासा मेट्ने अवसर पाएका थिए। सुरक्षाकर्मी र शिक्षकहरूबाट उनीहरूले सघन तथा सकारात्मक उत्तर प्राप्त गरेका थिए।
प्रमुख अतिथि चौलागाईका अनुसार कार्यक्रममा केही विद्यार्थीहरूको परीक्षणसमेत गरिएको थियो।
DIPU BARNWAL