पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका–२ का २६ वर्षीय प्रभाकर यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साइड नजिकै बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको खाली टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
खाली टिपर अचानक अनियन्त्रित भई सडकबाट तिनाउ खोला किनारमा खस्दा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।