काठमाडौं, २०८१ बैशाख २७ गते। सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासमा आज एक विशेष समारोहका बीच काठमाडौं महानगरपालिका द्वारा निर्मित 'B ब्लक' भवनको औपचारिक हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ। नयाँ भवनको सञ्चालनसँगै परिषद्ले स्थानीय समुदायमा स्वास्थ्य सेवा विस्तारको नयाँ चरण सुरु गरेको छ।
समारोह सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो, भने प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष श्री ईश्वर मान डंगोलको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूको सहभागिताले कार्यक्रमको गरिमा थप उच्च बनाएको थियो।
उक्त अवसरमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. बुलन्द थापा, ताइवान हेल्थ कोर्पका प्रतिनिधि डा. जेफरी चेन, अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रेमल कुमार जोशी, व्यवस्थापन संयोजक निशा अधिकारी थापा, समाजसेवी शंकर अर्याल, कर्मा ग्रुप अफ कम्पनीका योजना विकास अधिकृत डा. सुचित श्रेष्ठ, वडा सदस्यहरू लगायतको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य परिषद्का सदस्य श्री केशर बहादुर मानन्धरले प्रस्तुत गरेका थिए। प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाले मन्तव्य दिँदै डल्लु क्षेत्रको स्वास्थ्य सेवा प्रवाहमा परिषद्ले पुर्याएको योगदानको प्रशंसा गर्दै भन्नुभयो, “यो भवन केवल भौतिक संरचना मात्र होइन, समुदायप्रतिको हाम्रो विश्वास, सेवा र प्रतिबद्धताको प्रतिक हो। यसबाट सेवा अझ सुलभ, गुणस्तरीय र प्रभावकारी ढंगले प्रदान गर्न सकिनेछ।”
उहाँले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र निरन्तर सुधारमा सामुदायिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै परिषद्लाई आगामी दिनमा नविन प्रविधिको प्रयोगसहित थप सेवा विस्तार गर्न सुझाव पनि दिनुभयो। चिकित्सक, नर्स तथा कर्मचारीहरूको समर्पणप्रति उहाँले धन्यवाद व्यक्त गर्दै प्रशंसा गर्नुभयो।
प्रमुख अतिथि श्री ईश्वर मान डंगोलले आफ्नो मन्तव्यमा सामुदायिक स्वास्थ्य सेवामा परिषद्ले खेलेको भूमिकाको प्रशंसा गर्दै भवन हस्तान्तरणसँगै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँ र परिषद्का अध्यक्षबीच भवन हस्तान्तरण सम्बन्धी सम्झौतापत्र आदान–प्रदान गरिएको थियो। तत्पश्चात, श्री डंगोलले औपचारिक रूपमा भवन उद्घाटन गर्नुभयो।
समारोहमा १० वर्षभन्दा बढी सेवा गरेका चिकित्सकहरू र १५ वर्षभन्दा बढी योगदान पुर्याएका कर्मचारीहरूलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मानित गरिएको थियो। यसले दीर्घकालीन सेवामा समर्पित व्यक्तिहरूलाई हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।
समापन मन्तव्य परिषद्का अध्यक्षले दिनुभएको थियो। उहाँले महानगरपालिका, सम्पूर्ण अतिथिहरू, कर्मचारीहरू, स्वास्थ्यकर्मी तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै परिषद्ले भविष्यमा अझ प्रभावकारी, नवप्रवर्तनशील र समुदायमुखी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
समारोहको सञ्चालन परिषद्का सचिव श्री प्रकाश कुमार श्रेष्ठले गर्नुभएको थियो।
यस उद्घाटन र हस्तान्तरण कार्यक्रमसँगै डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले सेवा विस्तारको नयाँ युग आरम्भ गरेको छ, जसबाट स्थानीय नागरिकहरूले अझ सुलभ, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।