काठमाडौं | विज्ञान शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्याटद्वारा आयोजित विज्ञान शिक्षक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा सहभागी शिक्षकहरूले आधुनिक शिक्षण प्रविधिहरू, प्रयोगात्मक सिकाइका उपायहरू, र विद्यार्थी केन्द्रित शिक्षण विधिहरूको व्यावहारिक ज्ञान हासिल गरेका छन्। यसले उनीहरूको शिक्षण अभ्यासमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।
उक्त तालिमको प्रमुख उद्देश्य विज्ञान शिक्षणमा प्रयोगात्मक तथा क्रियाशील पद्धति प्रवर्द्धन गर्नु, शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, शिक्षण सामग्रीको प्रभावकारी प्रयोग गर्ने सीप विकास गर्नु र विद्यार्थीहरूमा वैज्ञानिक सोच तथा जिज्ञासा जगाउने रणनीति अपनाउनु रहेको थियो।
स्याटका महासचिव प्रशान्त दाहालले तालिम सम्पन्न भएको जानकारी दिँदै शिक्षकहरूको व्यावसायिक विकासमा यस्ता कार्यक्रमहरू उपयोगी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “शिक्षकहरूले तालिमबाट लिएको ज्ञान कक्षाकोठामा कार्यान्वयन गर्दा प्रत्यक्ष फाइदा हुनेछ।” यस्तै, स्याटका अध्यक्ष इञ्जिनियर विनय श्रेष्ठले विज्ञान शिक्षण केवल किताबी ज्ञानमा सीमित नरही प्रयोगात्मक सिकाइ र वैज्ञानिक सोचको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँका अनुसार यस्ता तालिमहरूले शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउनेछन्।
सहभागी शिक्षकहरू तालिमबाट निकै लाभान्वित भएका छन् र अब उनीहरूले आफ्ना विद्यालयहरूमा विज्ञान शिक्षणलाई अझ गुणस्तरीय र प्रभावशाली बनाउने विश्वास गरिएको छ।