News Desk
राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन्।
शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्तालाई रिहाइ गर्न माग गरे।
उनले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताए। उनीहरू आस्थाको बन्दी भएको उनको भनाइ छ।
उनले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा सम्लग्न नभएका व्यक्तिहरुलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेको आरोप पनि लगाए।
उनले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाए। उनले आस्थाका बन्दीहरुलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको बताए।