वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारी फडानी रोकिन्न, बाघले मान्छे चिन्दैन : प्रधानमन्त्री ओली
News Desk
May-11 , 2025 तारिख 12:06 बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा भइरहेको सालघारी फडानीलाई कडाइका साथ रोक्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उमेर नपुगेका सालका रूखहरूलाई व्यवसायिक रूपमा काट्न नहुने स्पष्ट पारे। साथै, वन क्षेत्रको मात्रात्मक विस्तार होइन, गुणात्मक व्यवस्थापनमा अब ध्यान केन्द्रित गर्नु7पर्ने उनको भनाइ थियो। हाल नेपालले कुल भूभागको ४६.०८ प्रतिशत वन क्षेत्र सुरक्षित राखेको छ।

प्रधानमन्त्री ओलीले वन क्षेत्रको संरक्षण मात्रै गरेर नहुने, अब उत्पादनमुखी नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले वनको व्यावसायिक उपयोगमा न त हतार गर्नुपर्ने न त ढिला गर्नु उपयुक्त हुने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो अभिव्यक्तिलाई दोहोर्याउँदै बाघको संख्या बढाउनु नहुने बताए। “बाघले कानुन पढ्दैन, भोक लागेपछि मानिसलाई आक्रमण गर्छ,” भन्दै उनले बाघको संख्या नियन्त्रणमा राख्नुपर्ने आवश्यकता औंल्याए।

जलवायु परिवर्तनबारे धारणा राख्दै प्रधानमन्त्री ओलीले पेरिस सम्झौता अस्वीकार गर्ने देशतर्फ संकेत गर्दै, यस्तो अडानले सम्पूर्ण विश्वले क्षति भोगिरहेको बताए।

नेपाल जलवायु परिवर्तनको असरबारे जनचेतना फैलाउन ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको जानकारी पनि उनले दिए। साथै, कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि जलवायु परिवर्तनको मारमा परेको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट क्षतिपूर्ति पाउनुपर्ने उनको तर्क थियो।