“मत्स्यगन्धा महाकाव्य” को दमौलीमा भव्य लोकार्पण, व्यासभूमिको गौरव थप रुपमा उजागर भएको वक्ताहरुको टिप्पणी
News Desk
May-11 , 2025 तारिख 07:14 बेलुका

दमौली, वैशाख २६ । चारै वेदका व्याख्याता तथा अठार पुराणका रचयिता महर्षि वेदव्यासको पावन जन्मभूमि व्यास नगर, दमौलीमा एक ऐतिहासिक तथा भव्य साहित्यिक समारोहका बीच “मत्स्यगन्धा महाकाव्य” को लोकार्पण सम्पन्न भएको छ।

महाकाव्यकार तथा गजल गुरु केशवराज आमोदीद्वारा रचित यस कृतिको लोकार्पण व्यास नगरपालिकाको सभाहलमा गरिएको हो। कार्यक्रमको प्र​मुख​ आतिथ्य​ता  नगर प्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो भने गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्षता गौकुमारी न्यौपानेले गर्नुभयो।

उक्त अवसरमा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं व्यास अध्येता काशीनाथ यौपानेले व्यासभूमिको धार्मिक, पौराणिक र ऐतिहासिक पक्षमाथि प्रकाश पार्दै “मत्स्यगन्धा” जस्तो कृतिले यो क्षेत्रको महत्त्वलाई थप उजागर गरेको बताउनुभयो।

कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्व अध्यक्ष सागर उदास, बोटे समाजका अध्यक्ष हेम बहादुर बोटे, दरै समाजका अध्यक्ष ठाकुर बहादुर दरै, नेपाल लेखक संघ तनहुँका अध्यक्ष शङ्कर नहर्की लगायत वक्ताहरूले मन्तव्य राख्दै उक्त कृतिले विभिन्न जातीय, सांस्कृतिक र ऐतिहासिक सन्दर्भलाई समेट्दै समाजमा समावेशी चेतना भर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

सत्र सर्ग, डेढ सय छन्द र एक दर्जन चित्रालङ्कारसहित समेटिएको “मत्स्यगन्धा महाकाव्य” दमौली क्षेत्रको भूगोल, संस्कृति, पौराणिक पात्र र किंवदन्तीहरूलाई समेट्दै लेखिएको छ। बोटे र दराई समुदायका प्रतिनिधिहरूले कृतिले आफ्ना समुदायको पहिचानसमेत उजागर गरेको जनाउँदै गहिरो हर्ष व्यक्त गरे।

कार्यक्रममा रत्ननगर वाङ्मय प्रतिष्ठान र वाल्मीकि साहित्य सदन, चितवनका वरिष्ठ साहित्यकारहरूको टोली सहभागी थियो। टोलीमा प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे, त्रिवेणी साहित्य परिषद्का पूर्व अध्यक्ष प्रा.डा. नारायण प्रसाद खनाल, महाकाव्यकार केशवराज आमोदी, सहप्राध्यापक लक्ष्मण अर्याल, उपन्यासकार चिरञ्जीवी दाहाल, साहित्यकार तिलकराज शर्मा पौडेल, उपन्यासकार गोकर्ण मल्ल, गजलकार कमल अर्याल र लोककवि राजेन्द्र घायल सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको सुरुवातमा कवयित्री नारायणी अधिकारीले महाकाव्यबाट कविता वाचन गर्नुभएको थियो भने अन्जु दाहालले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रम सञ्चालन संस्थाका महासचिव अमर नहर्कीले गर्नुभएको थियो। महाकाव्यको प्रकाशनदेखि लोकार्पणसम्मको प्रक्रिया सफल बनाउन भानु साहित्य उद्यानका कोषाध्यक्ष, कवि तथा गीतकार मुकुन्द पौडेलको योगदान उल्लेखनीय रहेको वक्ताहरूले प्रशंसा गरेका थिए।

व्यासभूमिको पौराणिकतालाई लिएर रचित सुन्दर कृतिको लोकार्पण पनि तनहुँ दमौलीमै हुनु सुखद् सन्दर्भ रहेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमले तनहुँको व्यासभूमिलाई धार्मिक, पौराणिक, साहित्यिक र पर्यटकीय दृष्टिले थप परिचित गराउने अपेक्षा राखिएको रचनाकार केशवराज आमोदीले बताउनुभयो।