भारत सरकारबाट सगरमाथा संवादका लागि १५ विद्युतीय सवारीसाधन सहयोगस्वरूप हस्तान्तरण
News Desk
May-12 , 2025 तारिख 12:23 बेलुका

काठमाडौं, वैशाख २८ — जलवायु परिवर्तन सम्बन्धी क्षेत्रीय बहसलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद–२०८२ को पहिलो संस्करणका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ।

नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत प्राप्त ती ई–गाडीहरू आइतबार परराष्ट्र मन्त्रालय परिसरमा आयोजित विशेष समारोहबीच नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

समारोहमा मन्तव्य राख्दै मन्त्री डा. राणाले भारत सरकारप्रति नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले जलवायु सम्बन्धी बहस र संवादमा अन्तर्राष्ट्रिय सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो।

“सगरमाथा संवाद केवल कार्यक्रम होइन, यो जलवायु संकटसँग लड्नको लागि क्षेत्रीय–वैश्विक सहकार्यको साझा अभियान हो,” मन्त्री राणाले भन्नुभयो।

उहाँले अझ भन्नुभयो, “नेपालमा जलवायु परिवर्तनको प्रभाव स्पष्ट देखिन थालेको छ, र यसको असर छिमेकी मुलुकहरूमा पनि परिरहेको छ। यस्तो संवेदनशील घडीमा भारतले देखाएको सहयोग प्रशंसनीय छ।”

नेपाल सरकारद्वारा आयोजना हुने सगरमाथा संवाद यही मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना हुँदैछ। संवादमा विभिन्न मुलुकका उच्चपदस्थ अधिकारी, विज्ञ, तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

मन्त्री डा. राणाका अनुसार, कार्यक्रममा सहभागी विदेशी पाहुनाहरूका स्वागतका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। सगरमाथा संवादमार्फत नेपालले जलवायु परिवर्तनसँग जुध्न साझा प्रतिबद्धता निर्माण गर्न चाहेको छ।