दिक्तेल रूपाकोट मझुवागढीमा बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन, पुस १५ देखि १७ सम्म आयोजना हुने
News Desk
May-13 , 2025 तारिख 11:40 बिहान

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका आगामी पुस १५, १६ र १७ गते ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने तयारीमा जुटेको छ। नगर कार्यपालिकाको गत चैत २५ गते सम्पन्न बैठकको निर्णय र विभिन्न क्षेत्रका विज्ञहरूसँगको परामर्शका आधारमा सम्मेलन आयोजना गर्न लागिएको हो।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार, कोशी प्रदेशले हाल मनाइरहेको प्रदेश पर्यटन वर्षलाई थप सार्थक बनाउने उद्देश्यले र स्थानीय जैविक विविधताको संरक्षण तथा प्रवर्द्धनमा जोड दिँदै सम्मेलन आयोजना गर्न लागिएको हो। “जैविक विविधता, रेड पान्डा र थार–संरक्षण संवर्द्धन, समृद्धिको आधार” भन्ने मूल नाराका साथ विश्वस्तरीय सम्मेलन आयोजना गरिने जानकारी उनले पत्रकार सम्मेलनमार्फत दिए।

साथै, सगरमाथा संवादका लागि देशभरबाट छनोट गरिएका ११ स्थानीय तहमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पनि छनोट भएको उनले बताए। उक्त अवसरमा उनले भने, “यो कार्यक्रममार्फत हाम्रो नगरपालिकाले राष्ट्रियस्तरमै पहिचान बनाएको छ भन्ने सन्देश दिन चाहन्छौं।”

पहिलो पटक नेपालमै आयोजित ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ र ‘रेड पान्डा तथा थार महोत्सव–२०८२’ सफलतापूर्वक सम्पन्न गर्दै वातावरण संरक्षण, वन व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरणमा सक्रिय योगदान पुर्‍याएको आधारमा नगरपालिकालाई सगरमाथा संवादका लागि योग्य ठहर गरिएको भट्टराईले बताए।