पनौती क्षेत्रमा बाढी र पहिरोको प्रभाव, एक महिला बेपत्ता
News Desk
May-13 , 2025 तारिख 04:02 बेलुका

काभ्रेपलाञ्चोक — पनौतीमा मंगलबार दिउँसोदेखि लगातार परेको अविरल वर्षाले नगर र वरपरका क्षेत्रमा ठूलो असर पु-याएको छ। पनौती नगरपालिका वडा नम्बर ३ देखि १० र आसपासका रोशी तथा तेमाल गाउँपालिकाहरूमा बाढी, डुबान र पहिरोका घटनाले जनजीवन प्रभावित भएको छ।

पनौती–५ को सुब्बा गाउँकी २८ वर्षीया रेनुका गिरी बाढीले बगाउँदा बेपत्ता भएकी छन्। उहाँको खोजी कार्य प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जानकारी दिएअनुसार गत वर्ष असोज महिनामा आएको बाढीले क्षति पु-याएको खानेपानी पाइप प्रणालीलाई अस्थायी रूपमा मर्मत गरिएको थियो। तर, यसपटकको बाढीले उक्त पाइप प्रणाली फेरि बगाएको छ। साथै, करिब ३ किलोमिटर लामो अस्थायी सडक पनि बाढीले नष्ट गरेको छ।

वर्षाका कारण खेतबारीमा लगाइएका आलुलगायतका बाली डुबानमा परेका छन्। त्यस्तै, रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका–६ को सिपाली हुँदै महाभारत गाउँपालिका जोड्ने सडकको ह्युम पाइपसमेत बगाएको छ।

बीपी राजमार्गमा पनि पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका सवारी साधन सतर्कताका साथ चलाउन आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यका लागि तयारी थालिएको जनाइएको छ।