बरिष्ठ सेफ केदार सिलवालको निधनमा सेफ्स एशोसिएसनद्वारा गहिरो शोक व्यक्त
News Desk
May-14 , 2025 तारिख 11:16 बेलुका

काठमाडौं, वैशाख ३१, २०८२। सेफ्स एशोसिएसन अफ नेपालका संस्थापक तथा जीवन सदस्य मुर्धन्य सेफ श्री केदार सिलवालको भारतमा उपचारको क्रममा असामयिक निधन भएको छ। उहाँको निधनले सम्पूर्ण पाककला तथा आतिथ्य सेवा (होस्पिटालिटी) क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

सन् १९९६ (वि.सं. २०५३) देखि सेफ्स एशोसिएसन अफ नेपालमा आबद्ध रहँदै आएका सेफ सिलवालले संस्थाको स्थापना, विस्तार र प्रवर्द्धनमा अहम भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको नेतृत्व, समर्पण र दूरदृष्टिले नेपाली पाककला क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको थियो। उहाँ कुशल सेफ मात्र नभई निष्ठावान अगुवा, प्रेरणादायी व्यक्तित्व र संस्था निर्माणका आधारस्तम्भसमेत हुनुहुन्थ्यो।

सेफ्स एशोसिएसन अफ नेपालले सेफ सिलवालको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ। अध्यक्ष रेशम कुमार लामाले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ,
“उहाँको निधनले हामीले एक अनुभवी अगुवा, समर्पित सदस्य र सशक्त अभिभावक गुमाएका छौं। उहाँको अतुलनीय योगदान सदैव स्मरणीय रहनेछ।”

संस्थाको तर्फबाट सम्पूर्ण पदाधिकारी, पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमिति सदस्यहरू तथा सम्पूर्ण सदस्यहरूले स्वर्गीय सेफ केदार सिलवालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजन, आफन्तजन तथा प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्य र सहनशक्तिको कामना गरिएको छ।