एनआरएन पार्टीगत स्वार्थभन्दा माथि उठन नसकेको प्रधानमन्त्रीको आशय
News Desk
May-15 , 2025 तारिख 11:43 बिहान

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई कुनै पनि राजनीतिक दलको स्वार्थमा प्रयोग गर्न नहुने स्पष्ट पार्नुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एनआरएनएको विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संगठनलाई पार्टीगत स्वार्थभन्दा माथि उठेर नेपाली डायस्पोराको समृद्धि र नेपालको हितमा समर्पित गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “यो विधिको युग हो। स्वेच्छाचारिता होइन, विधिसम्मत क्रियाकलापबाट मात्र दीर्घकालीन सफल परिणाम प्राप्त गर्न सकिन्छ।”

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई कुनै पनि राजनीतिक दलको जनवर्गीय संगठनजस्तो बनाउने प्रवृत्तिबाट टाढा रहन आग्रह गर्दै एमालेले संगठनलाई आफ्नो दलको हितमा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभयो।

“संस्थालाई राजनीतिक प्रयोगबाट जोगाएर समग्र नेपाली समुदायको हितमा क्रियाशील बनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “सरकार र म स्वयं विधिसम्मत कार्यमा तपाईँहरूसँग सधैँ साथ रहनेछौं। एमाले पनि यही धारणा राख्छ।”

प्रधानमन्त्रीले सम्मेलनले संस्थाको अस्तित्व जोगाउने तथा स्पष्ट दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबैलाई एकतामा जोड दिन आह्वान गर्नुभयो।

उहाँको भनाइमा, एनआरएनएले सुदृढ संस्थागत प्रणालीमार्फत डायस्पोराको सशक्त प्रतिनिधित्व गर्नुपर्छ, न कि कुनै गुट, व्यक्ति वा दलको स्वार्थपूर्तिको माध्यम बन्नु।