कर्मा ग्रुप अफ कम्पनीद्वारा स्वयम्भू सामुदायिक अस्पताललाई ओटी बेड सहयोग
News Desk
May-15 , 2025 तारिख 11:16 बेलुका

काठमाडौं, २०८२ जेठ १ | कृषि क्षेत्रको अग्रणी संस्था कर्मा ग्रुप अफ कम्पनीजले सामुदायिक स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्वयम्भू डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद, स्वयम्भू सामुदायिक अस्पताललाई अत्याधुनिक अपरेशन थिएटर (ओटी) बेड सहयोगस्वरूप हस्तान्तरण गरेको छ। यो सहयोगले अस्पतालको शल्यक्रिया सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

डल्लुस्थित अस्पताल भवनमा आयोजित एक विशेष समारोहमा कर्मा ग्रुपका अध्यक्ष सुरेश गुरुङले अस्पतालका अध्यक्ष हरी गोपाल श्रेष्ठलाई औपचारिक रूपमा ओटी बेड हस्तान्तरण गरे। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले अस्पतालको वर्तमान अवस्था, उपलब्ध सेवा र भविष्यका योजनाहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे।

प्रा. डा. थापाले आफ्नो प्रस्तुतिमा भविष्यमा अस्पताललाई अझ आधुनिक र सुविधासम्पन्न बनाउन विशेषज्ञ चिकित्सकहरूको टोली विस्तार, नयाँ उपकरण भित्र्याउने र स्थानीय समुदायलाई लक्षित स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने योजना रहेको बताए। “कर्मा ग्रुपको यो सहयोगले हाम्रो शल्यक्रिया कक्षको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ,” उनले उल्लेख गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पतालका उपाध्यक्ष प्रा. केसर बहादुर मानन्धरले स्वयम्भू सामुदायिक अस्पतालले विगतदेखि नै सामुदायिक स्वास्थ्य सेवामा पुर्‍याउँदै आएको योगदान र यसको सामाजिक प्रभावबारे प्रकाश पारे। उनले कर्मा ग्रुपको यो सहयोगले अस्पतालको सेवालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

दीर्घकालीन साझेदारीको शुरुवात
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष कर्मा ग्रुप र स्वयम्भू सामुदायिक अस्पतालबीच भएको दीर्घकालीन सहकार्यसम्बन्धी सम्झौता (एमओयू) थियो। यो सम्झौताले दुवै संस्थाले स्वास्थ्य सेवा विस्तार, समुदायमा स्वास्थ्य सचेतना अभियान, र अस्पतालको पूर्वाधार विकासमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, कर्मा ग्रुप अफ कम्पनीज अन्तर्गत रहेका सम्पूर्ण संस्था र किसानहरूलाई सर्बसुलभ मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

कर्मा ग्रुपका योजना विकास अधिकारी डा. सुचित श्रेष्ठले यो सहयोगको मुख्य उद्देश्य सामुदायिक स्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नु रहेको बताए। “हामी केवल सामग्री सहयोगमा सीमित छैनौं, हाम्रो लक्ष्य समुदायको समग्र स्वास्थ्य सुधारमा योगदान पुर्‍याउनु हो,” उनले भने।

कर्मा ग्रुपका अध्यक्ष सुरेश गुरुङले आफ्नो सम्बोधनमा समुदायस्तरको स्वास्थ्य सेवा सुदृढ बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले कर्मा ग्रुपले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए। “यो ओटी बेड हस्तान्तरण हाम्रो सहयोगको शुरुवात मात्र हो। हामीले स्वयम्भू सामुदायिक अस्पतालको प्रगति र पारदर्शितालाई आधार मानेर भविष्यमा थप सहयोग प्रदान गर्नेछौं,” उनले प्रतिबद्धता जनाए। साथै, अस्पताल व्यवस्थापनलाई प्राप्त सामग्रीको अधिकतम उपयोग गरी अस्पताललाई देशकै नमूना सामुदायिक अस्पताल बनाउन आग्रह गरे।

अस्पतालका अध्यक्ष हरी गोपाल श्रेष्ठले कर्मा ग्रुपको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे। उनले यो सहयोगले विशेष गरी आर्थिक रूपमा विपन्न समुदायका बिरामीहरूलाई गुणस्तरीय शल्यक्रिया सेवा प्रदान गर्न ठूलो सहयोग पुग्ने उल्लेख गरे। “कर्मा ग्रुपको यो सहयोगले हामीलाई हाम्रो लक्ष्यतर्फ अघि बढ्न थप प्रेरणा मिलेको छ। हामी यो ओटी बेडको उपयोग गरी अस्पतालको शल्यक्रिया सेवालाई अझ प्रभावकारी बनाउनेछौं,” उनले भने।

कार्यक्रममा कर्मा ग्रुपका कार्यालय सचिव गंगा भेटवाल, अस्पताल व्यवस्थापन संयोजक निशा अधिकारी, कोषाध्यक्ष दयामान शाही, सचिव प्रकाश कुमार श्रेष्ठ, सूचना अधिकारी दीपक चन्द्र गौतम, कार्य समिति सदस्यहरू नरेन्द्र मान डंगोल, मोहन कृष्ण श्रेष्ठ, र प्रशासकीय अधिकृत अमित महर्जनलगायतको उपस्थिति रहेको थियो। उपस्थित सबैले कर्मा ग्रुप र अस्पतालबीचको यो साझेदारीले सामुदायिक स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

कर्मा ग्रुप अफ कम्पनीजको यो सहयोग र स्वयम्भू सामुदायिक अस्पतालसँगको दीर्घकालीन साझेदारीले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार गर्ने अपेक्षा गरिएको छ। यो सहकार्यले अन्य निजी संस्थाहरूलाई पनि सामुदायिक स्वास्थ्य सेवामा योगदान पुर्‍याउन प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।