स्वयम्भू सामुदायिक अस्पताल र ताइवान हेल्थ क्रप्सबीच स्वास्थ्य सेवा स्तरवृद्धि सम्बन्धी सम्झौता सम्पन्न
News Desk
May-17 , 2025 तारिख 01:26 बेलुका

काठमाडौं, २०८२ जेठ २ गते — ताइवान हेल्थ क्रप्स ताइवान र सामुदायिक स्वास्थ्य सेवा परिषद्, स्वयम्भू सामुदायिक अस्पताल डल्लु आवासबीच अस्पतालको स्वास्थ्य सेवा स्तरवृद्धि, प्राविधिक तथा जनशक्ति आदान-प्रदान सम्बन्धी विविध विषयमा महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। कार्यक्रम स्वयम्भू सामुदायिक अस्पताल परिसरमा सम्पन्न भयो। 

कार्यक्रमको अध्यक्षता सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष श्री हरीगोपाल श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा ताइवान हेल्थ क्रप्स ताइवानका अध्यक्ष श्री चेन जिन डेन  उपस्थित हुनुहुन्थ्यो। प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापा, ताइवान हेल्थ क्रप्सका डा. जेफरी चेन उपाध्यक्ष प्रा. केशर बहादुर मानन्धर, कोषाध्यक्ष श्री दयामान शाही, सचिव प्रकाश कुमार श्रेष्ठ, सूचना अधिकारी दीपक चन्द्र गौतम, अस्पताल व्यवस्थापन संयोजक नीशा अधिकारी थापा, संचालक समिति सदस्यहरू श्री नरेन्द्रमान डंगोल र श्री मोहनकृष्ण श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

प्रमुख अतिथि ताइवान हेल्थ क्रप्सका अध्यक्षले आफ्नो मन्तव्यमा स्वयम्भू सामुदायिक अस्पतालसँगको सहकार्यलाई एक ऐतिहासिक अवसरको रूपमा लिँदै भन्नुभयो, “हामी स्वास्थ्य क्षेत्रमा सीमित स्रोत र साधनहरूबीच पनि उत्कृष्ट सेवा दिन सकिने विश्वास राख्दछौं। नेपालजस्तो मित्रवत् राष्ट्रसँग सहकार्य गर्दै यहाँको जनस्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याउन पाउनु हाम्रो लागि गर्वको विषय हो।” उहाँले भविष्यमा अत्याधुनिक स्वास्थ्य प्रविधि, तालिम र जनशक्ति विकासमा थप सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। 

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले अस्पतालको हालसम्मको प्रगति र भावी योजनाहरूको प्रस्तुती गर्दै भन्नुभयो, “स्वयम्भू सामुदायिक अस्पतालले विगत केही वर्षमा बिरामी संख्या, सेवा विस्तार, औजार तथा दक्ष जनशक्तिको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। अब हामी अन्तर्राष्ट्रिय सहकार्यको माध्यमबाट सेवा गुणस्तरलाई अझै उचाइमा पुर्याउने लक्ष्यमा छौं।” उनले ताइवान हेल्थ क्रप्ससँगको सहकार्यले अस्पतालमा नयाँ प्रविधिको प्रयोग, दक्ष जनशक्तिको विकास र विशेषज्ञ सेवा विस्तारमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष श्री हरीगोपाल श्रेष्ठले ताइवान हेल्थ क्रप्सप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन सामुदायिक अस्पतालले गरेका प्रयासमा आजको सम्झौता एक कोसेढुंगा सावित हुनेछ। यो सहकार्यले अस्पतालको सेवा क्षमता विस्तार मात्र होइन, समुदायमा विश्वास र भरोसा बढाउने काम पनि गर्नेछ।” उहाँले आगामी दिनमा थप अन्तर्राष्ट्रिय साझेदारीहरूलाई प्रोत्साहन गर्दै सबैको सहकार्यमा अस्पताललाई नमुना संस्थाका रूपमा स्थापित गर्ने संकल्प व्यक्त गर्नुभयो। 

कार्यक्रममा उपस्थित अतिथिहरूलाई खादा, माला र सगुनका साथ स्वागत गरियो। प्रमुख अतिथिहरूले अस्पतालको निरीक्षणसमेत गर्नुभएको थियो। 

अन्त्यमा सम्झौता पत्रमा दुवै संस्थाका अध्यक्षद्वारा हस्ताक्षर गरि समझदारीलाई औपचारिकता दिइएको थियो। कार्यक्रमको संचालन संचालक समिति सदस्य श्री मोहनकृष्ण श्रेष्ठले गर्नुभएको थियो।
I