गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको देउवाको दाबी
News Desk
May-18 , 2025 तारिख 06:10 बिहान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका छन।

प्रजातान्त्रिक विचार समाज स्थापनाको ३०औँ वार्षिकोत्सव तथा २७औँ साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको व्यवस्थामा भएका कमीकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए।

मुलुकमा समावेशी समानुपातिक निर्वाचन प्रणाली भएकाले कुनै दलको पनि बहुमत नआएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले संयुक्त सरकारको अभ्यासका क्रममा संसद्को पहिलो र दोस्रो ठूला दलको संयुक्त सरकार गठन भएको बताए।

उनले वर्तमान सरकारबाट भएका कमीकमजोरीलाई सुधार गर्दै जनता केन्द्रित विकासमा लागिपरेको उल्लेख गरे।

“नेपालमा प्रजातन्त्रको पुनःस्थापना भई २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि सडक, सिँचाइ, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा काम अघि बढेका हुन। लोकतान्त्रिक शासन व्यवस्थामा विकास निर्माणले गति लिन थालेका छन्”, उनले भने। 

विश्व तापमानले खानेपानी, हिमाललगायत क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि काम गर्न सरकारले सगरमाथा संवाद आयोजना गरेको सभापति देउवाले बताए।

धेरै पढिएको