शहीद तामाङको २१औं स्मृति दिवस विविध कार्यक्रमसहित सम्पन्न
News Desk
May-19 , 2025 तारिख 03:51 बिहान

नुवाकोट, २०८२ वैशाख २ – शहीद सूर्यबहादुर तामाङ ( सुरेश) को २१औं स्मृति दिवसको अवसरमा श्री विरेन्द्र मावि, कुमरीमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा अनाथ, असहाय तथा जेहेन्दार २१ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री (स्टेशनरी) वितरण गरिएको थियो। साथै विद्यालयलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ।

सो अवसरमा शहीदको स्मृतिमा “वृक्षारोपण कार्यक्रम” समेत सम्पन्न गरिएको थियो। कार्यक्रममा आँप, कटहर, लिची, ओखर, कागती लगायत २१ जातका फलफूलका बिरुवा रोपिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका जिल्ला सचिव क. आर.पी.सी. थिए भने विशेष अतिथिहरूमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य तथा बेल्कोटगढी नगर पार्टी अध्यक्ष क. गोकर्ण न्यौपाने, नेकपा केन्द्रिय प्रतिनिधि सदस्य क. संगम सी, जिल्ला सदस्य तथा बेल्कोटगढी नगरपालिका इन्चार्ज क. बाग्सिङ सी, बेनपा–२ का इन्चार्ज सानु सिग्देल, वडा नं. २ का पार्टी अध्यक्ष खेमनाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

उक्त स्मृति कार्यक्रमको अध्यक्षता शहीद का. सुरेशका पिता काजिमान तामाङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेकपा जिल्ला कमिटी सदस्य तथा शहीद सुर्यबहादुर तामाङका दाजु क. विदुर तामाङले गर्नुभएको थियो।