News Desk
काठमाडौं, जेठ ४ – पहिलोपटक आयोजना गरिएको ‘सगरमाथा संवाद’ २०८२ सरकारको निष्कर्षमा सफल ठहरिएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा केन्द्रित उक्त संवाद जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न भयो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संवादले हिमालदेखि टापुसम्मका आवाजहरूलाई एक ठाउँमा ल्याई जलवायु परिवर्तनको साझा चुनौतीमाथि सार्थक बहस सिर्जना गरेको बताइन्। उनले भनिन्, "हिमाल, समुद्री टापु, युवा, शिक्षाविद्, नीति निर्माता, अन्तरराष्ट्रिय संस्था र समुदायको आवाजलाई समेटेर संवादले प्रभावशाली ढंगले विश्व ध्यानाकर्षण गराएको छ।"
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले संवाद नेपालजस्ता मुलुकहरूका लागि अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गर्न एउटा प्लेटफर्म बनेको बताए। "हामीले कार्बन उत्सर्जनमा न्यूनतम योगदान दिएका छौं, तर असर बढी भोगिरहेका छौं," उनले भने, "यस विषयमा संवादले विश्वलाई सन्देश दिएको छ।"
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार संवादमार्फत हिमालका विषयहरू थप सशक्त रूपमा विश्वमञ्चमा प्रस्तुत भएका छन्। मिडिया ब्रिफिङमा उनले हिमाली क्षेत्रका चासो, असर र समाधानका दृष्टिकोणमा विविध छलफल भएको जानकारी दिए।
संवादको प्रचारप्रसार समितिका संयोजक एवं परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता, सहयोग र साझेदारी विस्तारमा संवाद प्रभावकारी बनेको बताए। उनले जलवायु न्याय, हरित अर्थतन्त्र, हानि–नोक्सानी न्यूनीकरण, मानवता र दिगोपनाको पक्षमा संवादले बहसको नयाँ ढोका खोलेको उल्लेख गरे।
तीन दिनसम्म चलेको कार्यक्रम अन्तर्राष्ट्रिय सहभागिताका हिसाबले पनि उल्लेखनीय रह्यो। तीन दर्जनभन्दा बढी मुलुकका १७५ विदेशी सहभागी तथा यति नै संख्यामा नेपाली सरकारी अधिकारी, विज्ञ गरी कुल ३५० जना विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।
संवादमा १२ वटा समानान्तर सत्र सम्पन्न भए, जसमा विभिन्न देशका विज्ञ, सरकारी अधिकारी तथा सरोकारवालाहरूले आफ्ना अनुभव तथा समाधानका उपाय साझा गरे। संवादको प्रमुख उपलब्धि स्वरूप २५ बुँदे ‘सगरमाथा कल फर एक्शन’ घोषणापत्र जारी गरियो।
संवादकै अवसरमा हिन्दु कुश हिमालय क्षेत्रका देशहरूको मन्त्रीस्तरीय बैठकसमेत सम्पन्न भयो। बैठकले उक्त क्षेत्र जलवायु जोखिममा सबैभन्दा बढी परेका मुलुकहरूको समूह भएको भन्दै साझा प्रयासमा जोड दिनुपर्ने आवश्यकता औँल्याएको थियो।
सरकारका अनुसार ‘सगरमाथा संवाद’ नेपालले विश्व सामु जलवायु विषयमा राखेको चासो र नेतृत्वको प्रतिबिम्बका रूपमा सफल रह्यो।