News Desk
काठमाडौं l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन्। जेठ १५ गतेदेखि सुरु हुने राजावादी आन्दोलनको तयारी बैठकलाई सम्बोधन गर्दै लिङ्देनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको प्रतिउत्तर दिएका हुन्।
प्रधानमन्त्री ओलीले केही दिनअघि संसद्मा ‘अब उमेरले भाग्न सकिन्न’ भन्ने अभिव्यक्ति दिएका थिए। यसलाई लक्षित गर्दै लिङ्देनले भने, “प्रधानमन्त्रीले भाग भन्नुभएन होला, तर सम्झौता नगर्ने हो भने उहाँलाई हेलिकोप्टर चढेर जान दिनुपर्छ। त्यसको व्यवस्था हामी मिलाउँछौँ।”
उनले आन्दोलन शान्तिपूर्ण हुने दाबी पनि दोहोर्याए। “यो प्रदर्शन पूर्ण रूपमा संयमित र आयोजकको नियन्त्रणमा हुनेछ। कुनै पनि हालतमा हिंसात्मक गतिविधिमा उत्रिने छैनौं,” लिङ्देनले प्रष्ट पारे। साथै, सरकारले दमनको बाटो रोजे आन्दोलनलाई हिंसातर्फ मोड्ने काम सरकारकै हुने चेतावनी पनि दिए।
मानवअधिकार आयोगलगायत अन्तर्राष्ट्रिय नियोगहरूलाई आन्दोलनको अवलोकनका लागि अनुरोध गरिने उनले जानकारी दिए। “यो आन्दोलन कुनै हालतमा अधुरो रहनेछैन,” लिङ्देनले जोड दिए।
त्यसैगरी, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आन्दोलनको नेतृत्व अब शीर्ष नेताहरूले गर्ने बताएका छन्। “अबको आन्दोलनमा अग्रपंक्तिमा केन्द्रका नेताहरू हुनेछन्। कुटाइ खानुपर्ने भए पनि नेताहरूले नै खान्छन्,” उनले भने। आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने भएकाले निडर भएर सहभागी हुन उनले सबैलाई आग्रह गरे।