मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावना : मौसम विभाग
News Desk
May-22 तारिख 06:36 बिहान

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा मुलुकका धेरैजसो भागमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले आज जारी विशेष मौसमी बुलेटिनमार्फत जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश भूभागमा वर्षा, अधिकतम र न्यूनतम तापक्रम समेत औसतभन्दा माथि रहने अनुमान सार्वजनिक गरेको हो।

विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी क्षेत्र, लुम्बिनीको उत्तरी भाग र गण्डकी प्रदेशका अधिकांश क्षेत्रहरूमा ५५ देखि ६५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी क्षेत्र, लुम्बिनीको पश्चिमी भाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती तथा कोशी प्रदेशका उत्तरी भागहरूमा ४५–५५ प्रतिशत बढी वर्षा हुन सक्नेछ। मधेश प्रदेशको पूर्वी तथा दक्षिणी क्षेत्रमा ३५–४५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ। बाँकी भागहरूमा पनि औसतभन्दा बढी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

साथै, देशभरको अधिकतम तापक्रम पनि सामान्यभन्दा बढी रहने पूर्वानुमान गरिएको छ।

यस्तै, आज पनि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। विभागका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव नेपालमा देखिएको छ।

काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।