काठमाडौँ | जेष्ठ ७, २०८२ - छिमेकी तथा दक्षिणपूर्वी एसियाली मुलुकहरू भारत, सिंगापुर र थाइल्यान्डमा कोभिड–१९ संक्रमण पुनः देखिन थालेपछि नेपाल सरकारले पनि निगरानी र सतर्कता बढाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कसहित देशका विभिन्न नाकाहरूमा स्क्रिनिङ प्रक्रिया कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ।
हालै नेपालमा एक जनामा कोभिड संक्रमण पुष्टि भएको भए पनि बिरामीको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले भने, “हालसम्म एकमात्र केस देखिएको छ तर सम्भावित जोखिमका कारण हामी सबै क्षेत्रमा सतर्कता अपनाइरहेका छौं। आमनागरिकलाई पनि सचेत र सतर्क रहन आग्रह गरेका छौं।”
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “भारत लगायत दक्षिणपूर्वी एशियाली देशहरूमा देखिएको संक्रमणको लहरलाई बेवास्ता गर्नु हुँदैन। पहिले अपनाइएका स्वास्थ्य सुरक्षा उपायहरू पुनः कडाइका साथ पालना गर्नु जरुरी छ।”
भारतमा हालै मात्रै २५७ जना नयाँ संक्रमित देखिएका छन् भने सिंगापुर र हङकङमा पनि संक्रमितहरूको संख्या बढ्न थालेको छ।
नेपालमा अघिल्लो लहरमा करिब १० लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको थियो भने १२ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। यस्ता तथ्यांकलाई दृष्टिगत गर्दै स्वास्थ्य अधिकारीहरूले सतर्कता अपनाउने र सावधानी नछाड्न सुझाव दिएका छन्।