२०८२ जेष्ठ ८ गते, काठमाडौं — नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष श्री प्रल्हाद दाहालको नेतृत्वमा पदाधिकारीसहितको एक प्रतिनिधिमण्डलले स्वयम्भू डल्लुस्थित स्वयम्भू सामुदायिक अस्पतालको अवलोकन भ्रमण गरेको छ। स्वास्थ्य, पोषण र सामाजिक उत्तरदायित्वको समन्वयमार्फत भविष्यमा सम्भावित सहकार्यको अवसर पहिचान गर्ने उद्देश्यले सम्पन्न भएको यो भ्रमणले दुई संस्थाबीच सहकार्यको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।
प्रतिनिधिमण्डलले अस्पतालका विभिन्न सेवा इकाइहरू — आपतकालीन सेवा, प्रयोगशाला, बहिरंग विभाग, फार्मेसी तथा प्रशासनिक संरचनाको स्थलगत अवलोकन गर्दै अस्पतालको सेवा प्रणाली, व्यवस्थापन तथा समुदायप्रतिको समर्पणप्रति उच्च प्रशंसा व्यक्त गरेका थिए।
उक्त अवसरमा सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष श्री हरीगोपाल श्रेष्ठ, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापा, युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टरका अध्यक्ष डा. राजु लामा, अस्पताल व्यवस्थापन संयोजक श्रीमती नीशा थापा तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन परिषद् सदस्य श्री दीपक चन्द्र गौतमले गरेका थिए। स्वागत मन्तव्यका क्रममा अध्यक्ष श्रेष्ठले अस्पतालले समाजमा पुर्याउँदै आएको योगदान र आगामी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए।
भ्रमणका क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष श्री प्रल्हाद दाहालले स्वयम्भू सामुदायिक अस्पतालको सेवा, व्यवस्थापन र समुदायप्रतिको समर्पणप्रति प्रशंसा व्यक्त गर्दै स्वास्थ्य र पोषण एक–अर्काका पूरक भएकाले आगामी दिनमा सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको बताए। युनाइटेड नेचर इन्टरनेसनल पिस नेपाल च्याप्टरका अध्यक्ष डा. राजु लामाले स्वास्थ्य सेवा र शान्तिको समन्वयमा अस्पतालको भूमिका उल्लेखनीय रहेको भन्दै संयुक्त स्वास्थ्य सचेतना तथा शान्ति प्रवर्द्धन कार्यक्रममार्फत सहकार्यको सम्भावना औंल्याए।
प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. बुलन्द थापाले अस्पतालले उपचार मात्र नभई रोकथाम, जनचेतना र पोषणमा समेत काम गरिरहेको उल्लेख गर्दै डेरी क्षेत्रसँगको सहकार्यले पोषणमार्फत समग्र स्वास्थ्य सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। परिषद्का अध्यक्ष श्री हरीगोपाल श्रेष्ठले गुणस्तरीय र पहुँचयुक्त सेवा पुर्याउने उद्देश्यमा डेरी एसोसिएसनसँगको सहकार्यले थप सुदृढता आउने बताए। अस्पताल व्यवस्थापन संयोजक श्रीमती नीशा थापाले पारदर्शी सेवा, सफा वातावरण र समुदाय–मुखी दृष्टिकोणलाई संस्थाको कार्यसंस्कृतिको रूपमा प्रस्तुत गर्दै यस्ता भ्रमणहरूले आत्मविश्वास बढाउने र सुधारका नयाँ सम्भावना देखाउने बताइन्।
कार्यक्रमको समापनमा सहभागी सबै प्रतिनिधिहरूले अस्पतालको कार्यप्रणालीप्रति उच्च सम्मान प्रकट गर्दै संस्थाबीच दीर्घकालीन सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।