News Desk
पटना | बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तथा हसनपुरका विधायक तेजप्रताप यादवलाई पार्टीबाट ६ वर्षका लागि निष्कासन गरेका छन्। सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्विटर) मार्फत सार्वजनिक गरेको सन्देशमा लालु यादवले तेजप्रतापलाई न त पार्टीमा, न त परिवारमा कुनै भूमिका रहने उल्लेख गरेका छन्।
लालुले लेखेका छन्, “नैतिक मूल्य र आदर्शको अवहेलना गर्दा हाम्रो सामाजिक न्यायका लागि गरिएको साझा संघर्षमा प्रतिकूल असर पर्छ। तेजप्रतापको सार्वजनिक व्यवहार, अभिव्यक्ति तथा कर्तुतहरू हाम्रो पारिवारिक मूल्य र परम्परासँग मेल खान्न।”
उनी अगाडि थप्छन्, “यस्ता परिस्थितिलाई ध्यानमा राख्दै, म तेजप्रतापलाई पार्टी र परिवार दुवैबाट हटाउँछु। आगामी ६ वर्षसम्म पार्टीसँग उनको कुनै सम्बन्ध रहने छैन।”
हाल तेजप्रताप यादव माल्दिभ्स भ्रमणमा रहेका छन्। यद्यपि, शनिबार साँझ उनको फेसबुक खाताबाट एक युवतीसँगको तस्बिरसहितको पोस्ट सार्वजनिक भएको थियो। पोस्टमा ती युवतीसँग १२ वर्ष पुरानो चिनजान रहेको उल्लेख गरिएको थियो। सो पोस्टमा व्यापक टिप्पणीहरू आउन थालेपछि उनले उक्त पोस्ट हटाएका थिए र एक्समार्फत आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको दाबी गरेका थिए। साथै, उनीविरुद्ध बदनाम गर्ने नियतले षड्यन्त्र गरिएको पनि दाबी गरेका छन्।
तर यस घटनाले राजनीतिक वृत्तमा चर्को प्रतिक्रिया निम्त्याएको थियो। पार्टी र परिवारको प्रतिष्ठामा आँच आएको भन्दै लालु यादवले कठोर निर्णय लिएका हुन्।
तेजप्रताप यादवले सन् २०१८ मा बिहारका पूर्वमुख्यमन्त्री दरोगा प्रसाद रायका परिवारकी नातिनी तथा पूर्वमन्त्री चन्द्रिका रायकी छोरी ऐश्वर्यासँग विवाह गरेका थिए। तर केही समयमै उनीहरूको वैवाहिक सम्बन्धमा दरार आएको थियो र हाल सो मुद्दा पारिवारिक अदालतमा विचाराधीन अवस्थामा रहेको भारतीय मिडियाहरूले जनाएका छन्।