गृहमन्त्री लेखक विवादमा मुछिँदै, राजीनामाको माग चुलिँदै
News Desk
May-26 , 2025 तारिख 12:29 बेलुका

काठमाडौँ | भीभीआईपी र भीआईपीहरू मुछिएका एकपछि अर्को भ्रष्टाचार तथा आपराधिक प्रकरणले ग्रस्त नेपालमा फेरि अर्को गम्भीर मुद्दा सतहमा आएको छ। यसपटक आरोपको घेरामा परेका छन् बहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाका लागि गैरकानुनी सेटिङमार्फत करोडौँ रकम असुली हुँदै आएको प्रारम्भिक छानबिनमा खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक रिपोर्ट अनुसार यसमा गृह मन्त्रालयका उच्च तहको संलग्नता देखिएको छ।

यससँगै गृहमन्त्री लेखकमाथि चौतर्फी दबाब बढेको छ। विभिन्न दल र नागरिक समाजबाट उनीमाथि राजीनामाको माग तीव्र भएको छ। तर गृहमन्त्री लेखकले न त स्वयं राजीनामाको तयारी देखाएका छन्, न त प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्ने आँट गरेका छन्।

गृहमन्त्री लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेको प्रकरणमा संसद्कै मर्यादा र नैतिकता सम्झाइदिँदै राजीनामा मागेका थिए। तर अहिले जब आफ्नै नाम मानव तस्करीसँग जोडिँदैछ, उनी भने कुर्सी छाड्न तयार देखिँदैनन्।

शनिबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग बोल्दै लेखकले आफूमाथि लगाइएको आरोपलाई नियोजित षड्यन्त्रको उपज बताउँदै भने, “मेरो राजनीतिक जीवनमा यदि आर्थिक अनियमितताको प्रमाण भेटियो भने न केवल पदबाट, म राजनीतिबाटै राजीनामा दिन्छु।”

उनले १३ गते प्रतिनिधिसभामा आफ्नो पक्ष राख्ने तयारी पनि जनाएका छन्। मन्त्री लेखकको बचाउमा गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै उनी कुनै गैरकानुनी कार्यमा संलग्न नरहेको दाबीसमेत गरेको छ।

कांग्रेसभित्र पनि लेखकमाथि मतभेद देखिएको छ। पार्टीको संस्थापन पक्ष भने उनीमाथि उठेका प्रश्नलाई हल्का रूपमा लिन खोज्दैछ। पूर्वगृहमन्त्री रवि लामिछानेमाथि चर्को आलोचना गर्ने कांग्रेस नेताहरू अहिले मौन छन्।

तर संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले भने गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने धारणा राखेका छन्। उनका अनुसार, “मन्त्रीले आफूमाथि उठेको प्रश्नको जवाफ दिने सबैभन्दा उपयुक्त बाटो भनेको राजीनामाद्वारा स्वतन्त्र छानबिनमा सहयोग गर्नु हो।”

सांसद राजेन्द्र बजगाईंले पनि सभापति देउवालाई पत्र लेख्दै लेखकलाई बर्खास्त गर्न माग गरेका छन्।

विपक्षी दलहरूले लेखकप्रतिको विरोधमा कडा रुख अपनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने स्पष्ट माग गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले भनेका छन्, “राजीनामाले नै निष्पक्ष छानबिनको ढोका खोल्छ।”

प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेका पुष्पकमल दाहाल (प्रचण्ड) ले समेत वर्तमान सरकारलाई भ्रष्टाचारको संरक्षणमा लागेको भन्दै कडा टिप्पणी गरेका छन्। उनले बागलुङमा आयोजित कार्यक्रममार्फत विमानस्थलमा भइरहेको अनियमितताले राज्यको आम्दानी लुटिएको बताएका छन्।

कांग्रेसले भने सोमबार पदाधिकारी बैठक डाकेर यो विषयमा औपचारिक निर्णय लिने तयारी गरेको छ।