गृहमन्त्रीको राजिनामाको माग चर्किएपछि देउवा निवासामा काङ्रेस पदाधिकारीको बैठक बस्दै
News Desk
May-26 , 2025 तारिख 01:10 बेलुका

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ। गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा उठेको संलग्नता आरोपको पृष्ठभूमिमा बस्न लागेको यो बैठक राजनीतिक रूपमा निकै संवेदनशील मानिएको छ।

बैठकमा गृहमन्त्री लेखकलाई लागेको मानव तस्करी संरक्षणको आरोपबारे नेताहरूले प्रत्यक्ष प्रश्न उठाउने र सभापति देउवाले त्यसमा जवाफ दिने कार्यक्रम तय भएको छ। लेखकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भिजिट भिसाको नाममा सेटिङ गरेर मानव तस्करी गर्ने गिरोहलाई संरक्षण दिएको आरोप लागेको छ। सो प्रकरणमा उनीमाथि चौतर्फी दबाब बढिरहेका बेला पार्टीभित्रै पनि उनको राजीनामाको माग उच्च बनेको छ।

बैठकमा उक्त विषयसँगै कांग्रेसका भ्रातृ संस्थाहरूको अवस्था, क्रियाशील सदस्यता नवीकरणलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन्।

यसबीच, आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकमा पनि गृहमन्त्रीमाथिको विवाद उठाइएको थियो। तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री कांग्रेसको कोटाबाट भएकाले सोबारे निर्णय स्वयं नेपाली कांग्रेसले गर्नुपर्ने धारणा राखेका छन्।

यसरी पार्टीभित्र र सत्तासाझेदार दलबीच समेत चासोको विषय बनेको यो प्रकरणले सत्तारुढ गठबन्धनमा तनाव सिर्जना गरिरहेको छ। कांग्रेसभित्रका कतिपय नेताहरूले लेखकले नैतिकताको आधारमा राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्नुपर्ने स्पष्ट धारणा सार्वजनिक गरिसकेका छन्।