नागरिक समाजले विभिन्न कार्यक्रम गर्दै बालश्रम विरुद्धको विश्व दिवस मनाउने तयारी
News Desk
May-27 , 2025 तारिख 12:53 बिहान

काठमाडौं, जेठ १२ | नागरिक समाजका विभिन्न संघसंस्थाहरूले आगामी जुन १ देखि जुन १२ सम्म विविध कार्यक्रमहरू आयोजना गरी ‘बालश्रम विरुद्धको विश्व दिवस’ मनाउने तयारी गरेका छन्। सिविस नेपालको संयोजन समन्वयमा नागरिक समाजका सम्बन्धित प्रतिनिधिहरूको भेलाले कार्यक्रम तय गरेको हो। बाल अधिकारको संरक्षण, सबै बालबालिकाको लागि गुणस्तरीय शिक्षा पहुँचको सुनिश्चितता, र बालश्रमको अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले देशभर विभिन्न गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।

उक्त कार्यक्रमअन्तर्गत बालमैत्री पोस्टर प्रदर्शनी, सचेतनामूलक ¥याली, बाल अधिकारकर्मीहरूको वक्तृत्वकला, तथा अन्तरक्रियात्मक छलफलहरू आयोजना गरिनेछन्। सहभागीहरूले सरकार, समुदाय, अभिभावक तथा निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिँदै बालश्रम न्यूनीकरणको सन्देश प्रवाह गर्ने तयारी गरेका छन्।

बालश्रमले बालबालिकाको शैक्षिक, सामाजिक तथा मानसिक विकासमा गम्भीर असर पार्ने हुँदा यस विषयमा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता रहेको आयोजकहरूले बताएका छन्। सिविसका एड्भोकेसि सल्लाहकार एवम  बाल अधिकारकर्मी युवराज घिमिरेका अनुसार यस वर्षको दिवसको नारा “Let’s speed up efforts to end child labour everywhere” लाई आत्मसात् गर्दै बालबालिकाहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रमहरू सञ्चालन गरिनेछ । कार्यक्रममा सन्चार क्षेत्रबाट सरोज ओझाको उपस्थिती रहेको थियो । 

विगतमा राज्य र गैरसरकारी प्रयासका कारण केही हदसम्म बालश्रम घटेको देखिए पनि हाल नेपालमा अझै ११ लाखभन्दा बढी बालबालिका श्रममा संलग्न रहेको तथ्यांकले देखाउँछ। संविधानले समतामूलक र बालश्रममुक्त समाजको परिकल्पना गरे तापनि, अझै पनि बालश्रमसम्बन्धी नयाँ ऐन निर्माणमा राज्य उदासीन देखिएको आयोजकहरूको भनाइ छ।

वर्तमानमा ‘बालश्रम न्यूनीकरण तथा नियमित र निषेधित बालश्रम नियन्त्रण ऐन, २०५६’ लागू भए पनि यो पुरानो ऐनलाई हटाएर सान्दर्भिक र प्रभावकारी नयाँ कानुन नबनाइनु दुःखद भएको भन्दै उनीहरूले आलोचना गरेका छन्। साथै, स्थानीयदेखि संघीय तहसम्मको बजेट र योजना निर्माणमा बालश्रम विरुद्धका कार्यक्रमहरूलाई प्राथमिकतामा नराखिएकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ।