शिक्षा नीति बहस : विदेशी विद्यार्थीलाई आकर्षित गर्ने नीति निर्माणमा जोड दिनुपर्नेमा सभापति देउवाको जोड
News Desk
May-27 , 2025 तारिख 01:16 बिहान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउँदै विदेशी विद्यार्थीलाई आकर्षित गर्ने नीति निर्माणमा जोड दिएका छन्। नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘शिक्षा नीति बहस’ कार्यक्रममा उनले शिक्षा प्रणालीको सुधारमार्फत स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई नेपालतर्फ आकर्षित गर्ने रणनीति आवश्यक रहेको बताए।

देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण गर्ने बित्तिकै विद्यार्थीहरू विदेशिने प्रवृत्ति डरलाग्दो रूपमा देखिएको उल्लेख गर्दै, नेपालमा सञ्चालित क्याम्पसहरू विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको बताए। उनले भने, "नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्यमुलुक बनाउनुपर्नेछ" ।

उनले शिक्षालाई रोजगारसँग जोड्न आवश्यक रहेको र विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समयानुकूल परिवर्तन गर्नुपर्नेमा पनि जोड दिए। साथै, उनले संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, र प्राविधिक शिक्षा सम्बन्धी ऐनहरू छिटो ल्याउन कांग्रेसले पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए। शिक्षासेवी हरीसिंह केसीले पनि कार्यक्रममा सहभागी भई शिक्षा प्रणालीको गुणस्तर सुधारका लागि यस्ता बहसहरू फलदायी हुने विश्वास व्यक्त गरे।

शिक्षा विभाग, केन्द्रिय​ स​द​स्य​ हरि सिंह के.सी.ले नेपालको उच्च शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताउँदै भने, “उच्च शिक्षालाई केन्द्र बनाउँदै नेपाललाई शिक्षा हब बनाउने योजनामा अघि बढ्न नीति निर्माण गर्नुपर्छ। देशभर र विदेशमा रहेका शिक्षाविद्, विज्ञ तथा सरोकारवालासँग संवादमार्फत समावेशी, व्यवहारिक, वैज्ञानिक र दिगो शिक्षा नीति निर्माण गर्नुपर्छ।”

उनले पछिल्लो समय नेपाली विद्यार्थीहरू केवल अध्ययनका लागि मात्र नभई बसाइँसराइका लागि पनि विदेश जान थालेको उल्लेख गर्दै, “नेपालमै विश्वस्तरको विश्वविद्यालयको आवश्यकता छ। यस्तो संस्थाले प्राविधिक सिप, चिकित्सा, कृषि, व्यवस्थापन लगायतका क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ,” भन्ने धारणा राखे।

कार्यक्रममा विश्वविद्यालय पदाधिकारी, शिक्षा विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति थियो। सहभागीहरूले शिक्षा नीति समावेशी, दीर्घकालीन, वैज्ञानिक र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निर्माण गर्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसले शिक्षा नीति बहस श्रृङ्खलालाई निरन्तरता दिँदै व्यापक सहभागितामार्फत प्रभावकारी नीति निर्माण गर्ने रणनीति अघि बढाइरहेको जनाएको छ।