News Desk
भिजिट भिसा प्रकरणमा आफ्ना नजिकका कर्मचारीहरू मुछिएपछि गृहमन्त्री रमेश लेखकले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै, तर पार्टीलाई असहज बनाउने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका छन्।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा लेखकले यस्तो धारणा राखेका हुन्। बैठकको सुरुवातमै भिजिट भिसा प्रकरण उठेपछि सभापति देउवासहित नेताहरूले लेखकलाई आफ्नो पक्ष राख्न आग्रह गरेका थिए।
लेखकले भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको दाबी गर्दै भने, “म निर्दोष छु। तर यदि मेरो कारणले पार्टीलाई कठिनाइ परेको हो भने म पद छाड्न तयार छु।” उनले पार्टीभित्रैबाट असहयोग भएको उल्लेख गर्दै शेखर कोइरालालगायत नेताहरूको आलोचना गरेका थिए।
“ममाथि अनावश्यक लाञ्छना लगाइयो। पार्टीकै नेताहरूबाट बेइज्जत गरियो,” लेखकलाई उद्धृत गर्दै एक पदाधिकारीले बताए, “तर म खुलेर भन्न चाहन्छु—पार्टी अप्ठ्यारोमा पर्छ भने म बाटो खुला गर्न तयार छु। दोष नभएको अवस्थामा किन चुप लाग्ने?”
लेखकले नेताहरूलाई आफ्नो विगतको मूल्यांकन गर्न आग्रह गरे। “मेरो काम, मेरो आचरण केलाएर हेर्नुहोस्। मबाट यस्तो काम हुनै सक्दैन,” उनले भने।
बैठकमा सभापति देउवाले लेखकलाई समर्थन जनाउँदै राजीनामा दिन आवश्यक नरहेको स्पष्ट पारे। “हामीले पनि अवस्था नियालिरहेका छौं,” देउवाले भने, “तपाईं आफ्नो काम गर्दै जानुहोस्, राजीनामाको कुरा आवश्यक छैन।”
बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अवस्था नरहेको ठहर गर्दै भिजिट भिसा प्रकरणमा दोषीहरूलाई कारबाही गर्नुपर्ने र निष्पक्ष छानबिन हुनुपर्ने निष्कर्षमा पुगेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
“हामी पूर्णरूपमा गृहमन्त्रीप्रति विश्वस्त छौं,” महतले भने, “तर, जसले भ्रष्टाचार वा दुरुपयोग गरेका छन्, उनीहरूलाई कारबाही गरिनुपर्छ। कांग्रेस भ्रष्टाचार कदापि सहन सक्दैन।”
कांग्रेसले यस प्रकरणलाई बदनाम गराउने नियतले गरिएको राजनीतिक प्रचारको रूपमा लिएको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाले लेखकमाथि अनावश्यक आरोप लगाइएको बताउँदै भने, “उहाँ निर्दोष हुनुहुन्छ। उहाँको स्पष्टीकरणपछि म स्पष्ट भएँ।”
यसैबीच, पूर्वमहामन्त्री कोइरालाले लेखकको राजीनामा माग्दै सार्वजनिक अभिव्यक्ति दिने शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मासँग स्पष्टीकरण माग्न प्रस्ताव गरेका छन्। “नेताहरूलाई बोलाएर के कुरा भएको थियो भन्ने बुझ्नुपर्छ,” उनले भने, “सभापतिलाई प्रस्ताव गरें, उहाँले केही भन्नुभएन।”
भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित सचिवालय तहका केही कर्मचारीहरू संलग्न भएको आशंका छ। यस प्रकरणको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ। पार्टीभित्र र बाहिरबाट लेखकको राजीनामाको माग भइरहे पनि कांग्रेस नेतृत्वले उनी निर्दोष रहेको निष्कर्षमा पुग्दै समर्थन जनाएको छ।