नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहालविरुद्ध झुटा मुद्दा
News Desk
May-28 , 2025 तारिख 12:15 बेलुका

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित विरोध प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ गरिरहेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहालविरुद्ध झुटा मुद्दा लगाइएको छ ।

दाहालविरुद्ध आपराधिक उव्द्रव र साङ्गठनिक अपराधसम्बन्धी गम्भीर अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सम्पादक दाहालले आफूले घटनास्थलमा “पत्रकारिताको धर्मअनुसार” मात्र रिपोर्टिङ गरेको दाबी गर्दै भनेका छन्, “मैले एक्सक्लुसिभ भिडियो खिचें, त्यसबाहेक मेरो कुनै संलग्नता थिएन। प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्न नसकेको कमजोरी ढाकछोप गर्न मलाई गलत रूपमा फसाइएको हो।”

उनले घटनास्थलमा खिचिएका तस्बिर र भिडियोहरू अनुसन्धानका प्रमाणका रूपमा प्रयोग गरिएको जनाउँदै, त्यसै आधारमा आफूलाई अभियुक्त बनाइएकोमा आपत्ति जनाएका छन।

यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र अनलाइन टिभी पत्रकार संघ, नेपालले संयुक्त रूपमा कडा विरोध जनाएका छन।

नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका दाहालले संकलन गरेका प्रशस्त तस्बिर तथा भिडियो सामग्रीहरू सार्वजनिक घटनाको अनुसन्धानका लागि प्रयोग भइरहेको अवस्थामा लगाइएको यो आरोपलाई महासंघले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप र प्रहारको रुपमा लिएको छ ।

‘महासंघ यो हस्तक्षेपप्रति खेद प्रकट गदैं कडा आपत्ति प्रकट गर्दछ । र, घटनाको छानबिन गरी महासंघका सदस्य दाहालमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरणका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।