जेठ १५ गते काठमाडौँ कब्जा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको गृहमन्त्रीबाट बचाउ
News Desk
May-29 , 2025 तारिख 11:34 बिहान

गृहमन्त्री रमेश लेखकले जेठ १५ गते काठमाडौँ कब्जा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको बचाउ गरेका छन।

बुधवार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री ओलीले दिएको काठमाडौँ कब्जा गर्ने अभिव्यक्ति राजधानीमा संगीतमय बनाऔँ भन्ने अर्थ भएको भन्दै बचाउ गरेका हुन। उनले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा काठमाडौँ कब्जा गर्ने अभिव्यक्ति राजधानीमा संगीतमय बनाऔँ भन्ने अर्थ भएको व्याख्या गरे।

उनले गणतन्त्र दिवसलाई उत्साह र सङ्गीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको दावी गरे। गृहमन्त्री लेखकले परम्परागत बाजा तथा साङ्गीतिक कलालाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई सांगीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा प्रधानमन्त्रीले अभिव्यक्ति दिएको दाबी गरे। उनले प्रधानमन्त्रीले कुनै राजनीतिक तथा हिंसात्मक नियन्त्रण नभएर संगीतमय नियन्त्रणको कुरा गरेको जिकिर गरे।

गृहमन्त्री लेखकले भने, “सम्माननीय प्रधानमन्त्रीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा संगीतमय बनाऔँ, संगीत महोत्सवको रूपमा बढाऔँ र गणतन्त्र दिवसलाई उत्साहका साथ मनाऔँ। सांस्कृतिक कार्यक्रमका साथ मनाऔँ। हाम्रा परम्परागत बाजा र सांगीतिक कला सडकमा प्रदर्शन गरेर सांगीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा भन्नुभएको भन्ने मैले बुझेको छु। त्यस कारण उहाँले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो। यो कुनै राजनीतिक, हिंसात्मक नियन्त्रण होइन। सङ्गीतको नियन्त्रण हो।”

उनले राजावादीहरूले बिहीवार काठमाडौँमा गर्न लागेको आन्दोलनलाई लक्षित गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिए।