गणतन्त्र दिवसमा एमाले र राजावादी समूहको रत्नपार्कमा आ-आफ्नो कार्यक्रम, सुरक्षा व्यवस्था कडा
News Desk
May-29 , 2025 तारिख 06:08 बिहान

काठमाडौं, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा आज सत्तारुढ नेकपा एमाले र राजावादी समूहहरू दुबै पक्षले काठमाडौंको रत्नपार्क क्षेत्रमै आ–आफ्नो कार्यक्रम आयोजना गर्दैछन्। यद्यपि दुबै पक्षबीच समय व्यवस्थापनको सहमतिअनुसार कार्यक्रम छुट्टाछुट्टै समयमा सम्पन्न हुने भएको छ।

सहमति अनुसार नेकपा एमालेले दिउँसो २ बजेसम्म गणतन्त्र दिवसको औपचारिक उत्सव कार्यक्रम सम्पन्न गर्नेछ। त्यसपछि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले शान्तिवाटिका परिसरमा प्रदर्शन गर्ने जनाइएको छ।

यस विषयमा जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकबाट समय र स्थान व्यवस्थापनको सहमति प्राप्त भएको हो। दुबै पक्षले प्रदर्शन गर्ने भएपछि कुनै अप्रिय घटना नहोस् भन्ने हेतुले नेपाल प्रहरीले काठमाडौं उपत्यकामा व्यापक सुरक्षा प्रबन्ध मिलाएको छ। सुरक्षाकर्मीहरू strategic location हरूमा खटाइएको र निगरानी पनि कडा बनाइएको छ।

राप्रपा लगायत राजावादी समूहले राजसंस्थाको पुनर्स्थापनाका लागि आवाज उठाउँदै र्याली तथा सभा गर्ने तयारी गरेका छन् भने एमालेले गणतन्त्रको उपलब्धि र महत्वलाई जनसमक्ष प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

सार्वजनिक चासोको विषय बनेको यो घटनाक्रमलाई लिएर राजनीतिक रूपमा समेत विभिन्न प्रतिक्रिया आउन थालेका छन्। शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न प्रशासनले सबै पक्षलाई संयमित रहन आह्वान गरेको छ।

धेरै पढिएको