गणतन्त्रको सार्थकता शासकीय चरित्रमा परिवर्तनबाट मात्रै सम्भव छ : राष्ट्रपति पौडेल
News Desk
May-29 , 2025 तारिख 12:38 बेलुका

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा देशवासीमा सम्बोधन गर्दै शासकीय चरित्रमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। राजनीतिक उपलब्धि हासिल मात्र भएर गणतन्त्र सफल हुँदैन भन्ने धारणा राख्दै उनले मुलुकका राजनीतिक दल, नेताहरू र शासन प्रणालीलाई जनउत्तरदायी, पारदर्शी र न्यायोचित बनाउन ढिलाइ नगर्न आग्रह गरेका छन्।

“हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ,” राष्ट्रपति पौडेलले भनेका छन्, “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न।”

राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रप्रति जनताले पालेका अपेक्षा निराशामा बदलिन नदिन सबै तहका नेतृत्वलाई गम्भीर र प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। “जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” उनले भने।

रोजगारी, समान अवसर, स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्याय नागरिकको प्रमुख चाहना भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्ता अपेक्षा पूरा गर्न आर्थिक समृद्धि अपरिहार्य रहेको बताए। उनले वर्तमान स्रोत र साधनको उच्चतम प्रयोग गर्दै कृषिको आधुनिकीकरण, पर्यटन, ऊर्जा, उद्योग र सेवा क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनु पर्नेमा जोड दिए।

“हामीले स्रोतहरूको उच्चतम प्रयोग गर्न सके मात्र समृद्धि हासिल गर्न सक्छौँ,” राष्ट्रपति पौडेलले भने, “त्यसले मात्रै आर्थिक विकास, सामाजिक न्याय र जीवनस्तरमा परिवर्तन सम्भव बनाउँछ। अनि मात्र गणतन्त्र नागरिकको जीवनसँग जोडिन्छ। त्यसबाट नयाँ आशाहरू निर्माण हुन्छन् र गणतन्त्र सफल, सबल र परिणाममुखी बन्छ। यही आजको ऐतिहासिक अभिभाराको सन्देश हो।”

राष्ट्रपतिले गणतन्त्र दिवसको शुभकामनासहित सबै नेपालीलाई समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि आ-आफ्नो भूमिकामा दृढतापूर्वक लाग्न आह्वान गरे।