News Desk
गैँडाकोट, नवलपुर | गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा तनहुँकी साहित्यिक स्रष्टा नारायणी अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएकी छिन्।
प्रतियोगिता गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको थियो। वरिष्ठ कवि गोविन्द विनोदीको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।
कुल ५२ वटा कवितामध्ये वाचनका लागि १२ उत्कृष्ट कविताहरू छनोट गरिएको थियो। अन्तिम चरणको वाचन प्रतियोगितामा तनहुँकै रामलाल कुमालले दोस्रो स्थान प्राप्त गरे भने गोरखाका स्रष्टा सुन्य नयन तृतीय स्थानमा रहे। त्यस्तै, वाग्लुङका रामचन्द्र शर्माले प्रोत्साहन पुरस्कार प्राप्त गरे।
कार्यक्रममा उल्लेखनीय साहित्यिक उपस्थिति देखिएको थियो। सहभागी प्रमुख व्यक्तित्वहरूमा प्रा.डा. नारायणप्रसाद खनाल,प्रा .जगन्नाथ पण्डित, कवि लकास पौडेल, प्रा.डा. मतीप्रसाद ढकाल, वरिष्ठ कलाकार भीम शर्मा, महाकाव्यकार केशवराज आमोदी, साहित्यकार रामहरि शर्मा सराह, कवि शिव त्रिपाठी, सरस्वती शर्मा रिजाल, सूर्य रेग्मी, प्रकाश चापाई लगायत रहेका थिए।
केही आमन्त्रित कविहरूले आफ्ना कविता पनि वाचन गरेका थिए। सो अवसरमा कवि तथा गीतकार मुकुन्द पौडेलले गणतन्त्र दिवसको सन्दर्भमा विशेष कविता वाचन गरी कार्यक्रममा अझ प्रभावशाली प्रस्तुति दिएका थिए।
कार्यक्रमले साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै नवप्रतिभा प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको कवि मुकुन्द पौडेलले बताए।