News Desk
काठमाडौं । नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह - आयोजनामा ‘ दशौं वातावरण साहित्य गोष्ठी ’ आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुँदै छ । गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या कविता ‘ मलाई आर्यघाट लगेर नजलाउनु ’ को लोकार्पण गरिने छ । साथै पर्या निबन्ध प्रतियोगितामा सहभागी १ सय ८ निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने कार्यक्रम रहेको छ । गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरिने छ, भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. अभि सुवेदी हुने छन्, भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहने छन् । त्यसैगरी, डा. गीता त्रिपाठी र डा. अशोक थापा कार्यक्रमका वक्ता रहने छन् । कार्यक्रमको संयोजन विजय हितानले गरेका छन् । आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ ।