News Desk
जनकपुर | साढे तीन वर्षदेखि जनकपुर–जयनगर रेलमार्गमा सञ्चालनमा रहेका नेपालका राष्ट्रिय झन्डा अङ्कित दुई रेल सेवामा आइतबारदेखि करिब दुई महिनाको लागि विराम लाग्ने भएको छ।
नेपाल रेल्वे कम्पनी (जनकपुर) का प्रशासन प्रमुख तुलाबहादुर डाँगीका अनुसार, मर्मतसम्भारका लागि ती दुवै रेल भारतको लखनउस्थित रेल मर्मत केन्द्रमा पठाइनेछ। आइतबार बिहान जनकपुरबाट यात्रु लिएर जयनगर पुगेपछि नेपाली रेल त्यहीँबाट लखनउका लागि प्रस्थान गर्नेछ।
मर्मत अवधिभर यात्रुहरूले नेपाली रेलको सट्टा भारतीय ‘शाकुरबस्ती’ नामक पहेँलो रंगको रेलमार्फत सेवा लिनुपर्नेछ। वैकल्पिक सेवा प्रदान गर्न आएको यो रेल हाल इनरुवा स्टेशनमा रहेको र भारत सरकारले यो सेवा निःशुल्क रूपमा उपलब्ध गराएको डाँगीले जानकारी दिए।
२०७६ सालको असोजमा भारतको कोंकण रेलवेबाट जनकपुर भित्रिएका ती दुईवटा रेल करिब ८४ करोड रुपैयाँमा नेपालले खरिद गरेको थियो। २०७८ चैत २० गते ती रेल औपचारिक रूपमा उद्घाटन गरी जनकपुर–जयनगर खण्डमा सञ्चालनमा ल्याइएको थियो।
डाँगीका अनुसार मर्मत कार्य भारत सरकारकै आर्थिक र प्राविधिक सहयोगमा हुन लागेको हो। नेपाली रेललाई लखनउ लैजाँदा र फर्काउँदा लाग्ने सम्पूर्ण खर्च, जस्तै ट्र्याक शुल्क, जनशक्ति व्यवस्थापन, इन्धन, उपकरण र प्राविधिक सहयोगभारत सरकारले नै व्यहोर्नेछ। अर्थात्, नेपाल सरकारले कुनै पनि आर्थिक भार बेहोर्नुपर्ने छैन।
करिब दुई महिनापछि मर्मत सम्पन्न भएपछि दुवै रेल पुनः जनकपुर फिर्ता आउने र सेवा सञ्चालनमा फर्किने जानकारी पनि प्रशासन प्रमुख डाँगीले दिएका छन्।